काठमाडौं– अपन राधेमाई युथ क्लब र घोडाघोडी क्रिकेट एकेडेमी, कैलाली यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले नेक्सस क्रिकेट एकेडेमी ११ लाई ९ विकेटले पराजित गरेको छ।
नेक्सस ११ ले १९ ओभरमा झारिएको खेलमा पूरै ओभर खेल्दै ९ विकेट क्षतिमा ८८ रन बनायो। नेक्सस ११ का पारस ऐरले ४ चौका र १ छक्का सहयोगमा ५१ रन जोडे । राधेमाईका ‘म्यान अफ द म्याच’ वसिम अली मन्सुरीले ३ तथा सल्मान अली मन्सुरी र अनिश साह कानुले २–२ विकेट लिए।
जवाफमा राधेमाईले ११.१ ओभरमा मात्र १ विकेट गुमाउँदै जितका लागि आवश्यक ८९ रन जोड्यो। राधेमाईका राहुल हक अन्सारीले ३२ तथा चन्दन कुमारले २२ रन योगदान गरे।
घोडाघोडीले कालिकोट जिल्ला क्रिकेट संघलाई ७० रनले हरायो। घोडाघोडीले १९.४ ओभरमा १० विकेट गुमाएर १६४ रनको योगफल खडा गरेको थियो।
घोडाघोडीका ‘म्यान अफ द म्याच’ पारस उपाध्यायले ५–५ चौका र छक्का मद्दतमा ७७ तथा विजय गुप्ताले २५ रन बनाए। कालिकोटका सोचन ओली र म्याट्रिक्स थापाले क्रमशः ४ र ३ विकेट चट्काए।
कालिकोट १८.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटियो। कालिकोटका विशाल रावलले ३३ स्कोर गरे। घोडाघोडीका सन्तोष केसीले ३ विकेट लिए।
सेमिफाइनलमा घोडाघोडीको भेट अपन राधेमाईसँग हुने छ भने आयोजक नेक्सस क्रिकेट एकेडेमीले जिएचसीए, ललितपुरको सामना गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।