काठमाडौं- बलिङमा उत्कृष्ट प्रदर्शनका बावजुद वर्षाले खेल अवरुद्ध भएपछि नेपाली महिला क्रिकेट टोली एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। योसँगै नेपाल एसिया कपमा छनोट हुन पनि असफल भएको छ।
वर्षाले खेल रद्द भएपछि समूह ‘ए’ विजेता भएर सेमिफाइनल प्रवेश गरेको युएईलाई विजेता घोषणा गरिएको हो। यूएई समूह चरणमा अपराजित थियो। नेपाल समूह ‘बी’को उपविजेता भएर सेमिफाइनल पुगेको थियो।
यसअघि युएईविरुद्ध नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेकी थिइन्। नेपाली बलरले युएईलाई खुलेर खेल्न दिएका थिएनन्। युएईले १९.५ ओभरमा ८१ रनमा अलआउट भएको थियो।
नेपालका लागि अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन्। उनले ३.५ ओभरमा १० रन दिएकी थिइन्।
तर, युएईको इनिङ्स सकिएलगत्तै वर्षा सुरु भएको थियो। वर्षा नरोकिएपछि खेल रद्द गरेर युएईलाई विजयी घोषणा गरिएको हो।
समूह चरणमा तीन खेल जिते पनि नेपाल हङकङसँग भने पराजित भएको थियो। नेपालको ६ अंकसहित समूहको उपविजेता बनेको थियो।
एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली एसिया कप महिला टी–२० क्रिकेट खेल्न पाउनेछन्।
एसिया कपमा एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपबाट जाने २ टिमबाहेक भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्यान्ड रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।