काठमाडौं– एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिएको छ। मलेसियास्थित किनरारा एकेडेमी ओभलमा भइरहेको खेल वर्षाका कारण रोकिएको हो।
पहिलो इनिङ्स सकिएसँगै पानी पर्न थालेपछि खेल रोकिएको हो। यसअघि पनि खेल पानीको कारण ढिला सुरू भएको थियो। खेल नेपाली समय अनुसार ८ : १५ मा सुरु हुने तय थियो। तर, वर्षाको कारण ८ : ४५ मा मात्र सुरु भएको थियो।
यसअघि पहिलो इनिङ्समा युएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको युएईले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन बनायो।
युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन्। उनले ११ बलमा एक चौका प्रहार गरिन्। यता, इशा रोहितले २१ बलमा २ चौकासहित १५ रन बनाइन्।
कप्तान छाया मुघलले १९ बलमा १ चौकासहित १४ रन जोडिन्। यस्तै, खुसी शर्माले १९ बलमा १२ रनमा बनाएर विकेट गुमाइन्। युएईका आधा दर्जन ब्याटरले भने नेपालविरुद्ध दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालकी अस्मिना कर्माचार्यले सर्वाधिक ५ विकेट लिइन्। उनले ३.५ ओभर बलिङ गर्दै १० रन दिएकी थिइन्। यस्तै, उपकप्तान इन्दु वर्माले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर ३ विकेट लिइन्। सीता रानाले २ विकेट हात पारिन्। उनले ४ ओभरमा १९ रन खर्चिइन्।
कप्तान रुविना क्षेत्री बेलबासे, संगीता राई र कविता कुँवर भने विकेटविहीन रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।