काठमाडौं-अपन राधेमाई युवा क्लबले यु–१६ नेक्सस कप टी-२० क्रिकेट सिजन ५ मा बिहीबार जित हात पारेको छ। बागमती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) लाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्यो।
पहिलो ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो । शशि पारितले ५३, सफ्वान अलीले २२ र रुहुल हक अन्सारीले २० रन जोडे। भक्तपुरका आयान सिलवालले २ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रेको बसीसी १८.१ ओभरमा अलआउट हुँदै ६२ रनमा समेटियो। राधेमाईका सल्मान अली मन्सुरी र अनिश साह कानुले ३–३ विकेट लिए।
अर्को खेलमा आस्था कलेज, झापाले ओसिस क्रिकेट एकेडेमीलाई २ विकेटले हरायाे। ओसिसले पूरा २० ओभर खेल्दै ७ विकेट क्षतिमा १०० रनको योगफल खडा गर्यो। ओसिसका सूर्यान्शु कोइरालाले ३७ तथा निश्चल श्रेष्ठले २१ रन बनाए। आस्थाका सौजन घिमिरेले ३ तथा संगम बुढाथोकीले १ विकेट झारे।
आस्थाले १७.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य भेटायो। आस्थाका सौजन घिमिरेले ९ बलमा २ छक्का मद्दतमा २१ रन बटुले। ओसिसका बीके शर्माको नाममा ३ विकेट रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।