काठमाडौं- अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा ८ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ।
एउटा छानबिन समितिले उनको उपचारमा व्यापक कमजोरी र अनियमितता देखिएको पुष्टि गरेसँगै न्यायाधीशले लापरबाहीपूर्ण हत्या गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिएका हुन्।
म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा अर्जेन्टिनाको राजधानी ब्यूनस एरिजमा हृदयाघातका कारण निधन भएको थियो।
सोही महिनाको सुरुतिर मस्तिष्कको शल्यक्रिया गराएका उनको स्वास्थ्यमा सुधार भइरहेको थियो। उनको निधन भएको केही दिनपछि अर्जेन्टिनी अभियोजनकर्ताहरूले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए।
गत वर्ष २० जना विज्ञ सम्मिलित एउटा प्यानलले म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरूको टोलीले अनुपयुक्त, अपर्याप्त र गैरजिम्मेवार ढंगले काम गरेको पुष्टि गरेको थियो।
अदालतका अनुसार उक्त प्यानलले भनेको थियो– यदि उपयुक्त चिकित्सा सुविधामा पर्याप्त रूपमा उपचार गरिएको भए म्याराडोना बाँच्ने सम्भावना हुन्थ्यो।
मुद्दाको सामना गर्नेमा नशासम्बन्धी म्याराडोनाका निजी चिकित्सक, एक मनोचिकित्सक, अर्का दुई चिकित्सक, दुईजना नर्स र उनीहरूका हाकिमसहित छन्। आरोपित सबैले म्याराडोनाको निधनका लागि आफूहरू जिम्मेवार नरहेको दाबी गर्दै आएका छन्।
अभियोग पुष्टि भएमा प्रत्येकले ८ देखि २५ वर्षको जेलसजाय भोग्नुपर्ने बताइएको छ। मुद्दाको सुनुवाइको समय तय भइसकेको छैन।
निधन हुने बेला म्याराडोनाको अवस्था कतैबाट सहयोग नपाएको जस्तो देखेको एक वकिल मारिओ बाउड्रीले समाचार संस्था रोयटर्सलाई बताए।
‘कारण हेर्नासाथ मैले यो त लापरबाहीपूर्ण हत्या हो भनेँ। मैले लामो लडाइँ लडेर आज यहाँ पुगेका छौँ, एउटा चरण पूरा भएको छ,’ उनले भने।
म्याराडोनाकी दुईजना छोरीले गरेको एउटा उजुरीले कानुनी प्रक्रिया अघि बढेको थियो। मस्तिष्कको शल्यक्रियापछि आफ्नो बुवाको गरिएको उपचारबारे उनीहरूले चासो व्यक्त गरेका थिए।
एउटा पत्रकार सम्मेलनमा उनका चिकित्सक लुक रोएका थिए र आफूले म्यारोडोनाको ज्यान जोगाउन हरसम्भव उपाय अपनाएको बताएका थिए। म्याराडोनालाई विश्वका सर्वकालिक महान् फुटबल खेलाडीमध्ये एक मानिन्छ।
सन् १९८६ मा आर्जेन्टिनाले विश्वकपको उपाधि उचाल्ने बेला उनी राष्ट्रिय टोलीका कप्तान थिए। क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध उनले प्रहार गरेको एउटा गोल ‘ह्यान्ड अफ गड’ चर्चित छ।
आफ्नो खेल जीवनको उत्तरार्द्धतिर कोकेनको कुलतमा फसेका म्याराडोना सन् १९९१ मा परीक्षणका क्रममा पोजिटिभ पाइएपछि १५ महिनाका लागि प्रतिबन्धमा परेका थिए। म्याराडोनाको निधनको खबरले विश्व फुटबल जगत् र उनको देशमा ठूलो शोक निम्त्याएको थियो।
उनलाई अन्तिम बिदाइ गर्न मानिसहरू एक किलोमिटरभन्दा लामो लाइनमा उभिएका थिए। भिड धेरै भएपछि नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा रबरको गोली समेत प्रहार गर्नुपरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।