काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेटर महासंघ (फिका)को अध्यक्षमा अस्ट्रेलियाकी पूर्वमहिला क्रिकेटर लिसा स्थालेकर नियुक्त भएकी छन्।
स्वीट्जरल्याण्डको नियोनमा बसेको फिका कार्यकारी समितिको बैठकले ४२ वर्षीय स्थालेकरको नाम अनुमोदन गरेको हो। लिसा फिकाको पहिलो महिला अध्यक्ष हुन्। उनी अस्ट्रेलियाका पूर्वकप्तान पनि हुन्।
लिसाभन्दा अगाडि दक्षिण अफ्रिकाका पूर्वब्याट्सम्यान ब्यारी रिचर्ड्स, वेस्ट इन्डिजका पूर्वअलराउन्डर जिमी एडम्स र इङ्ल्यान्डका पूर्वब्याट्सम्यान विक्रम सोलंकीले यो पद सम्हालिसकेका छन्।
अध्यक्ष बनेपछि लिसाले खुशी व्यक्त गर्दै भनिन्,‘ हामी खेलको नयाँ युगमा प्रवेश गरिरहेका छौं। अहिले महिला होस् या पुरुष, दुवैले धेरै क्रिकेट खेलिरहेका छन्। क्रिकेट अहिले विश्वव्यापी खेल बन्दै गएको छ। यसलाई विश्वभर मन पराइँदैछ।’ लिसाको जन्म भारतको पुणेमा भएको थियो।
लिसाले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा अस्ट्रेलियाका लागि १८७ खेल खेलेकी छन्। उनले १२५ एकदिवसीय खेलमा २ शतक र १६ अर्धशतकको मद्दतमा २७२८ रन बनाएकी छन्। यसबाहेक उनले १४६ विकेट पनि लिएकी छन्। उनी एकदिवसीय क्रिकेटमा १००० रन बनाउने र १०० विकेट लिने पहिलो महिला क्रिकेटर थिइन्।
यसबाहेक उनले ८ टेस्ट र ५४ टी–२० अन्तर्राष्ट्रिय खेलेकी छन्। उनलाई सन् २०२१ मा अस्ट्रेलियाले ‘हल अफ फेम’मा समावेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।