काठमाडौं– सन् २०२१ मा सुरु भएको टेस्ट सिरिज २०२२ मा सम्पन्न हुनेछ। भारत र इङ्ल्यान्ड दुवै टोलीको कमाण्ड यस सिरिजका लागि नयाँ कप्तान र प्रशिक्षकको हातमा छ। यो सिरिजमा भारत २–१ ले अगाडि छ। सुरुमा ओल्ड ट्राफोर्डमा हुने भनिएको खेल अब एजब्यास्टनमा हुनेछ।
भारतका मुख्य प्रशिक्षक राहुल द्रविड यो सिरिजका लागि तयार छन्। उनले भने, ‘यो मात्र टेस्ट होइन, विश्व टेस्ट च्याम्पियनसिपको अंक पनि दाउमा छ। गत वर्ष यो सिरिज खेलेर भारतलाई अग्रता दिलाएका खेलाडीले जित्न सक्दो प्रयास गर्नेछन्। इङ्ल्यान्डले निकै राम्रो खेलिरहेको छ। अहिले हामीले त्यो कुरालाई पनि ध्यानमा राख्नुपर्छ।’
उनले थपे, ‘जब हामीले गत वर्ष इङ्ल्यान्डसँग खेलेका थियौं, परिस्थिति अलि फरक थियो। न्यूजिल्यान्डसँग हारेर बाहिर निस्किरहेका थियौं। तर, यसपटक न्यूजिल्यान्डलाई हराएर आउँदैछौं। यद्यपि, हामीसँग निकै बलियो टोली छ, त्यसैले राम्रो खेलको आशामा म छु।’
भारतले बिहीबारदेखि लेस्टरशायरसँग चारदिने अभ्यास खेल खेल्ने छ। गत वर्ष सुरु भएको यो सिरिजमा भारतीय टोलीको मुख्य प्रशिक्षक रवि शास्त्री, कप्तान विराट कोहली र उपकप्तान अजिंक्य रहाणे थिए। अहिले मुख्य प्रशिक्षक द्रविड, कप्तान रोहित शर्मा र उपकप्तान केएल राहुल रहेका छन्।
तर, राहुलको फिटनेसलाई लिएर अझै शंका छ। योसँगै इङ्ल्यान्डले पनि कप्तान र प्रशिक्षक परिवर्तन गरेको छ। जो रुटको स्थानमा अब बेन स्टोक्स कप्तान बनेका छन् भने ब्रेन्डन म्याकुलम मुख्य प्रशिक्षक छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।