काठमाडौं– बलियो नेपाल कप अन्डर १५ क्रिकेट प्रतियोगिता २०७९ को उपाधि मधेश प्रदेशले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै मधेशले उपाधि हात पारेको हो।
मुलपानी मैदानमा सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो। उसका लागि आकाश टमाटाले २३ रन जोड्नबाहेक अन्य ब्याट्स्म्यानले उल्लेखनिय प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ मधेसका साईमन रोएले ४ ओभरमा केवल १० रन खर्चिएर २ विकेट हात पारे।
जवाफमा ९६ रनको लक्ष्य मधेशले १५.३ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो। मधेशको जितमा खेलको प्लेयर अफ दि म्याच रंजन यादवले ३४ रनको इन्निङ खेले। बागमतीका कप्तान युवराज खत्रीले १६ रन खर्चिएर ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन भने सकेनन्।
प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट मधेश प्रदेशका साईमन रोए घोषित भए भने ११ का जेनिश मगर, कमल शाही र बागमती प्रदेशका युवराज खत्री प्रतियोगिताको इमार्जिंग खेलाडी घोषित भए।

बिजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र सभासद अमन लाल मोदी, राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र बलियो नेपाल न्युट्रिसन इनिसिएटिभका प्रमुख कार्यकारी ड़ा. अतुल उपाध्यायले प्रदान गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।