काठमाडौं– झुलन गोस्वामी र शिखा पाण्डेको अनुपस्थितिमा भारतीय युवा तीव्र गतिका बलरहरूले श्रीलंका भ्रमणमा आफ्नो छाप छोड्ने मौका पाउनेछन्।
मिताली राजको सन्यासपछि हरमनप्रीत कौरलाई भारतीय महिला क्रिकेट टोलीको पूर्णकालीन कमाण्ड दिइएको छ। उनले प्रशिक्षक रमेश पवारसँगै कमनवेल्थ गेम्स र टी–२० विश्वकपका लागि टोलीको तयारी गर्नुपर्नेछ।
भारतीय स्पिन विभागमा दीप्ती शर्मा, पुनम यादव र राजेश्वरी गायकवाडजस्ता अनुभवी नाम छन्। तर, तीव्र गतिको बलिङमा पूजा वस्त्रकार, मेघना सिंह, रेनुका सिंह र सिमरन बहादुर जस्ता युवा अनुहार छन्।
श्रीलंका जानुअघि भर्चुअल पत्रकार सम्मेलनमा कुरा गर्दै हरमनप्रीतले भनिन्, ‘हाम्रो युवा बलिङ युनिटले जिम्मेवारी लिने समय आएको छ। यो सिरिज उनीहरूका लागि राम्रो अवसर हो। हाम्रो लागि यो भ्रमण सजिलो हुने छैन। तर, मलाई टोली निर्माण गर्न र योजना बनाउन दिनुहोस्।’
यता, प्रशिक्षक पवारले पनि भारतीय क्रिकेट टोलीमा परिवर्तनको समय भएको भन्दै युवा खेलाडीले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन्।
‘यो परिवर्तनको समय हो। युवा खेलाडीहरूलाई आफ्नो स्थान सेट गर्न पर्याप्त अवसर दिनुपर्छ। प्रशिक्षकका रूपमा हामीले उनीहरूलाई सबै प्रकारको सहयोग दिनुपर्छ ताकि उनीहरूले कुनै पनि परिस्थितिमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकुन्। खेलाडीहरू अगाडि आएर अवसरको सदुपयोग गर्ने यो उपयुक्त समय पनि हो,’ उनले भने।
पवारले टोलीमा अनुभवी खेलाडी नभएको स्वीकार गरेका छन्। तर, उनले टोलीमा रहेका युवा खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरिरहेको दाबी गरेका छन्।
‘जहाँसम्म फास्ट बलिङको सवाल छ, मेघना र रेणुकाले अस्ट्रेलिया भ्रमणमा राम्रो प्रदर्शन गरेका छन्। विगत ६ महिनादेखि पुजा वस्त्राकर हाम्रो तर्फबाट उत्कृष्ट छिन्। तर, नतिजा आउन अझै केही समय लाग्ने छ,’ उनले भने, ‘झुलन र शिखा अहिले टिममा छैनन्। त्यसैले उनीहरूको फिटनेसको बारेमा तपाईंले बीसीसीआईलाई सोध्नु पर्ने हुन्छ। आगामी व्यस्ततालाई मध्यनजर गर्दै स्नेह राणालाई विश्राम दिइएको हो।’
पवारले अगाडि भने, ‘राणा हाल एनसीएमा छन् र आफ्नो फिटनेसमा काम गरिरहेका छिन्। (एफटीपी) मा २०–२५ टी–२० खेल र केही एकदिवसीय सिरिजहरू खेल्ने योजना बनाइरहेका छौं। त्यसैले हामी उनलाई यसको लागि तयार गरिरहेका छौं। हामी ब्याट्सम्यान र बलर दुवैको कामको बोझलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेका छौं।’
मार्चयता भारतीय महिला टोलीको यो पहिलो अन्तर्राष्ट्रिय सिरिज हो। पछिल्लो दुई दशकमा मिताली राज टोलीमा नपरेको पनि यो पहिलो पटक हो। उनको अनुपस्थितिमा हरमनप्रीतले टी–२० र एकदिवसीय टोलीको नेतृत्व गर्नेछिन्।
‘अब मेरो लागि सजिलो हुन सक्छ, किनभने हाम्रो दृष्टिकोण फरक थियो। अब खेलाडीहरूले पनि आफ्नो भूमिका र कप्तानको रूपमा म उनीहरूबाट के चाहन्छु भन्नेबारे स्पष्ट हुनेछ,’ उनले भनिन्।
उनले थपिन्, ‘ कमनवोल्थ गेम्स र टी–२० विश्वकपलाई हेरेर हामी उत्कृष्ट खेल्नेछौं र सकेसम्म धेरै खेल जित्ने छौं। श्रीलंकासँगको एकदिवसीय सिरिजलाई हामीले तयारीको रूपमा लिएका छौं। त्यसैले त्यहाँ धेरै नयाँ खेलाडीलाई मौका दिनेछौं। सबैलाई थाहा छ, अर्को महिला एकदिवसीय विश्वकप नजिक्कै छ।’
भारतले श्रीलंकामा तीन टी–२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेल खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।