काठमाडौं– भारत र दक्षिण अफ्रिकाबीचको पाँचौं तथा अन्तिम टी–२० आई खेल आइतबार बेङ्लुरूको एम चिन्नास्वामी स्टेडियममा हुँदैछ। ५ खेलको सिरिज अहिले २–२ को बराबरीमा छ। आइतबार भारतीय टोलीलाई दक्षिण अफ्रिकाविरूद्ध घरेलु मैदानमा इतिहास रच्ने मौका छ। हालसम्म भारतीय टोलीले घरेलु मैदानमा दक्षिण अफ्रिकालाई टी–२० सिरिजमा हराउन सकेको छैन।
दक्षिण अफ्रिका पहिलो पटक सन् २०१५–१६ मा भारतमा टी–२० आई सिरिज खेल्न उत्रिएको थियो। यो ३ खेलको सिरिजमा भारत २–० ले पराजित भएको थियो। पछिल्लो टी–२० खेल वर्षाका कारण रद्द भएको थियो। यस सिरिजमा भारतीय टोलीको कप्तानी महेन्द्र सिंह धोनीले गरेका थिए।
त्यसपछि दक्षिण अफ्रिकाको टोली २०१९–२० मा टी–२० आई सिरिज खेल्न भारत आएको थियो। यस सिरिजमा भारतीय टोलीको कप्तान विराट कोहली थिए। ३ खेलको सिरिज १–१ को बराबरीमा रहेको थियो भने अन्तिम एक खेल वर्षाका कारण रद्द भएको थियो।
आइतबार पहिलो पटक भारतीय टोलीको कप्तानी गरिरहेका ऋषभ पन्तसँग खेल जित्ने र इतिहास रच्ने सुनौलो अवसर छ।
कस्तो छ पिच?
चिन्नास्वामी स्टेडियमको पिचले ब्याट्सम्यानलाई मद्दत गर्नेछ। यस्तो अवस्थामा टस जित्ने कप्तानले पहिले बलिङ गर्ने निर्णय गर्नुपर्छ। किनभने यहाँ लक्ष्य पछ्याउन धेरै सजिलो छ। योसँगै स्पिन बलरले पनि यहाँ सहयोग पाउने अपेक्षा गरिएको छ।
हेड टु हेड
यी दुई टोलीले हालसम्म १९ टी–२० आई खेलेका छन्। जसमध्ये भारतले ११ खेल जितेको छ। अर्कोतर्फ दक्षिण अफ्रिका ८ खेलमा जित निकाल्न सफल भएको छ। दुवै टोली भारतीय भूमिमा ८ पटक आमनेसामने भएका छन्, जसमध्ये दक्षिण अफ्रिकाले ५ खेल जितेको छ। घरेलु मैदानमा भारतले ३ खेल जितेको छ।
चिन्नास्वामीमा भारतको कीर्तिमान
चिन्नास्वामीमा भारतले ५ खेल खेलेको छ। जसमध्ये २ मा मात्रै जित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ। यस मैदानमा भारतले बंगलादेश र इंग्ल्यान्डलाई हराएको छ भने पाकिस्तान, अस्ट्रेलिया र दक्षिण अफ्रिकासँग पराजित भएको छ।
कार्तिक र हार्दिकमाथि आश
राजकोटमा भएको चौंथो टी–२० आईमा दिनेश कार्तिक र हार्दिक पाण्ड्याले धुवाँदार इनिङ्स खेल्दै टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। यी दुईबीच ३५ बलमा ६५ रनको साझेदारी भएको थियो।
कार्तिकले २७ बलमा ५५ रन बनाएका थिए। यता, हार्दिकले ३१ बलमा ४६ रनको उत्कृष्ट इनिङ्स खेले। यी दुवै खेलाडीमाथि अन्तिम खेलमा पनि यस्तै इनिङ्स खेल्ने अपेक्षा गरिएको छ। यी दुवै खेलाडी टिमको मिडल अर्डरमा फर्ममा देखिन्छन्। ऋषभ पन्त र श्रेयस अय्यरको ब्याट सिरिजभर चल्न सकेको छैन।
कार्तिकले यस सिरिजका ४ खेलमा ४६ को औसतमा ९२ रन बनाएका छन्। उनको स्ट्राइक रेट १५८.६२ छ। हार्दिकले सिरिजका ४ खेलमा १५३.९४ को स्ट्राइक रेटमा ११७ रन बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।