काठमाडौं– इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई पहिलो ओडीआई खेलमा ४९९ रनको कीर्तिमानी लक्ष्य दिएको छ।
भिआर क्रिकेट ग्राउन्ड एम्स्टेलवीनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४९८ रन बनायो। यो ओडीआई इतिहासकै सर्वाधिक ठूलो योगफल हो।
इंग्ल्यान्डले आफ्नो रेकर्ड तोडेको हो। यसअघि ओडीआईमा सर्वाधिक ठूलो इनिङ २०१८ मा इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्ध ६ विकेट गुमाउँदै ४८१ रन बनाएको थियो।
इंग्ल्यान्डका लागि जस बटलरले सर्वाधिक १६२ रनको इनिङ्स खेले। उनले ७० बलमा ७ चौका र १४ छक्का प्रहार गरे। उनको यो ओडीआई करिअरको सर्वाधिक उच्च प्रदर्शन हो।
यता, युवा ब्याटर फिलिप साल्टले ९३ बलमा १४ चौका र ३ छक्कासहित १२२ रनको शतकीय इनिङ्स खेले। उनको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो।
डेविड मलानले १०९ बलमा ९ चौका र ३ छक्कासहित १२५ रनको शतकीय इनिङ्स खेले। मलानको यो ओडीआई करिअरको पहिलो शतक हो।
तल्लोक्रमका लियाम लिभिङस्टोनले २२ बलमा ६ चौका र ६ छक्कासहित ६६ रनमा अविजित रहे। नेदरल्यान्ड्सका पिटर सिलारले सर्वाधिक दुई विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।