काठमाडौं– ओएन मोर्गनले आफ्नो फिटनेसलाई ध्यानमा राख्दै केही सीमित ओभरका अन्तर्राष्ट्रिय खेलहरूमा आराम गर्ने छन्। आसन्न टी–२० विश्वकपको लागि तयार रहन उनी आराम गर्न लागेका हुन्।
मोर्गनले वेस्ट इन्डिजविरूद्धको टी–२० सिरिजका सबै खेल खेलेका थिए। यस क्रममा उनको खुट्टाको मांसपेशीमा चोट लागेको थियो। त्यसपछि मिडलसेक्ससँग खेल्दा उनको ढाडमा चोट लागेको थियो। तर, उनले नेदरल्यान्ड्सविरूद्ध सबै ओडीआई खेल खेल्ने आशा राखेका छन्।
सीमित ओभरको कप्तानको रूपमा उनको प्रदर्शनमा धेरै प्रश्न उठेका छन्। उनले पछिल्लो १८ महिनामा अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र एक अर्धशतक बनाएका छन्। साथै, उनले घरेलु टी–२० क्रिकेटमा एक पनि अर्धशतक बनाउन सकेका छैनन्। तर, कम्तिमा टी–२० विश्वकपसम्म टोलीसँग रहने उनको चाहना छ।
भारतमा हुन लागेको ओडीआई विश्वकपमा पनि टिमको नेतृत्व गर्ने हो कि भनेर सोध्दा यसको जवाफमा मोर्गनले भने, ‘त्यसका लागि अझै धेरै समय छ। मैले पहिले टी–२० विश्वकपको बारेमा सोच्नुपर्छ। म टोलीको सफलतामा सकेसम्म योगदान दिने प्रयास गर्नेछु।’
इङ्ग्ल्यान्डका प्रशिक्षक म्याथ्यू मोटले बुधबार आफ्नो पहिलो प्रेस ब्रिफिङगमा मोर्गनको भनाइलाई समर्थन गरेका थिए। ‘उनी सधैं फर्म र योग्यताका आधारमा छनोट हुन चाहन्छु भन्छन्’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।