काठमाडौं– अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले श्रीलंकाविरूद्धको ओडीआई सिरिजमा पुनरागमन गर्ने अपेक्षा राखेका छन्। तर, उनले यसका लागि टेस्ट खेल्ने सम्भावनामा सम्झौता गर्न खोजेका छैनन्।
श्रीलंकाविरूद्धको टी–२० सिरिजको पहिलो खेलमा स्टार्कको औंलामा चोट लागेको थियो। ३२ वर्षीय स्टार्कले पछिल्लो समय प्रशिक्षणको क्रममा उनी फिट भएका छन्।
तर, आईसीसीको नियमअनुसार बलरहरूले खेलको दौरान आफ्नो औंलामा टेप लगाउन पाउँदैनन्। जसका कारण स्टार्क अहिले मैदान फर्किन सकेका छैनन्।
बिहीबार स्टार्कले आफ्नो औंलाबाट टाँका निकालेका थिए। तर, उनी पूर्णरूपमा फिट छन् या छैनन् भन्ने कुरा तेस्रो ओडीआई खेल्दा थाहा हुनेछ। यदि उनले खेलेनन् भने यसको मतलब उनी अझै पूर्णरूपमा फिट छैनन् भन्ने थाहा हुन्छ।
उनी ५ खेलको सिरिजमा कम्तिमा केही खेल खेल्ने आशावादी छन्। तर, टेस्ट क्रिकेट खेल्नको लागि पुनरागमन गर्न कुनै हतार गर्न चाहँदैनन्।
ओडीआई सिरिज खेल्ने सम्भावनाबारे स्टार्कले भने, ‘म अझै पनि यो सिरिज खेल्ने मौका पाउँछु भन्ने आशामा छु। चोट अझै पूर्णरूपमा निको भइसकेको छैन। अबको केही दिनमा अलिअलि हुनेछ। कोलम्बो पुगेपछि परीक्षण गर्छु। म प्रशिक्षण गरिरहेको छु। जाहिर छ म टेस्ट सिरिजलाई पनि हेरिरहेको छु।’
स्टार्कले आफू फिट भएको महसुस गरेपनि यसका बाबजुद मैदान फर्किन नसकेको बताएका छन् । ‘मैले नेटमा राम्रो बलिङ गरिरहेको छु। तर, टेप लगाएर बलिङ गर्नुपरेको छ। म आईसीसीको नियमका कारण औंलामा टेप लगाएर बलिङ गर्न सक्दिनँ। त्यसैले म खेलिरहेको छैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।