काठमाडाैं-नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको भ्रमण गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आईसीसी विश्वकप क्रिकेट लिग २ खेल्न स्कटल्यान्ड जानुअघि नेपाली टोलीले क्यानडाको भ्रमण गर्न लागेको हो।
भ्रमण दौरान नेपालले घरेलु टोलीसँग दुई खेलको टी–२० र दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। दुई महिनाअघि लिग २ का लागि अमेरिका जाने भएपछि नेपालले क्यानडाको भ्रमण गर्ने तयारी गरेकाे थियो। तर, अमेरिका जाने बेलासम्म क्यानडाको भिसा नभएकाले नेपाली टोली पुनः काठमाडौं फर्किएर क्यानडा जान लागेको हो।
नेपालले क्यानडासँग सुरुआतमा टी–२० सिरिज खेल्नेछ । पहिलो टी–२० खेल असार १४ गते र दोस्रो १५ गते हुनेछ। यस्तै, नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल असार २० र दोस्रो खेल असार २१ गते हुनेछ।
त्यसपछि नेपाली टोली क्यानडाबाट जुलाई ८ मा सोझै स्कटल्यान्ड पुग्ने छ। नेपालले त्यहाँ लिग २ को आफ्नो पाँचौं सिरिजमा स्कटल्यान्ड र नामिबियासँग २–२ खेल खेल्ने छ। स्कटल्यान्ड पुग्नुअघि नेपालले लर्डसमा मेरिलेबोन क्रिकेट क्लबसँग खेल्ने कार्यक्रम बनेको थियो। त्यो हाललाई स्थगित भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।