काठमाडौं–मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्रिकेट विभागले ‘टयालेन्ट हन्ट’ (प्रतिभाको खोजी) मार्फत देशभरिबाट क्रिकेट खेलाडी छनोट सुरु गरेको छ।
सोही कार्यक्रमअन्तर्गत बिहीबार प्रदेश १ मोरङको विराटनगरबाट विभागले ‘अन्डर १८ ईमर्जिङ्ग स्टार क्रिकेट टुर्नामेन्ट २०७९' औपचारिक सुरुआत गरेको हो। मदन भण्डारी स्मृति दिवसको अवसरमा सुरु भएको उक्त कार्यक्रमको मदन भण्डारी स्पोर्टस एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठले जननेता भण्डारीको तस्बिरमा माल्यार्पणसँगै अम्पायरलाई बल हस्तान्तरण गरी उद्घाटन गरिन्।
दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा तीन टिम सहभागी रहेको विभागका अध्यक्ष एवम पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले जानकारी दिए। विभिन्न तीन टिममा सहभागी ४० खेलाडीहरु प्रदेश १ का सबै जिल्लाबाट ट्यालेन्ट हन्टमार्फत् छनोट गरिएको उनले बताए। दुई दिने प्रतियोगितापश्चात् प्रदेश १ को टिम तयार गरिनेसमेत उनले जानकारी दिए।
छनोट गरिएका खेलाडीहरुलाई प्याट्रोटिक क्रिकेट एकेडेमी सेन्टर, मिल्स क्रिकेट एकेडेमी ट्रेनिङ सेन्टर र विराटनगर क्रिकेट क्लब ट्रेनिङ एकेडेमीमा विभाजन गरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गौचनले बताए। प्रतियोगिता २५-२५ ओभरको हुनेछ।
‘ट्यालेन्ट हन्ट’ मेची–महाकाली अभियानमार्फत् सातै प्रदेशमा प्रतिभावान खेलाडीको पहिचान गरी आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताका लागि सक्षम बनाइने उपमहासचिव श्रेष्ठले बताइन्। एकेडेमीले यो महिना क्रिकेटसँगै अन्य ८ वटा खेलको आयोजना गरी जननेता मदन भण्डारी स्मृति दिवस मनाउने योजना रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।