काठमाडौं– आयरल्याण्डसँग हुने दुई टी–२० खेलको सिरिजमा अलराउन्डर हार्दिक पान्ड्याले भारतीय टोलीको कप्तानी गर्ने भएका छन्।
नियमति कप्तान रोहित शर्मा इङ्ग्याण्ड भ्रमणमा हुँदा हार्दिकले भारतले दुई सातापछि आयरल्याण्डसँग खेल्न लागेको उक्त सिरिजमा पहिलोपटक राष्ट्रिय टोलीको कप्तानी गर्ने जिम्मेवारी पाएका हुन्।
हार्दिकको कप्तानमीमा गुजराज टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा डेब्यू प्रतियोगितामै उपाधि जितेको थियो। भारतले घरेलु मैदानमा जारी दक्षिण अफ्रिकासँग पाँच टी–२० आई खेलमा हार्दिकलाई उपकप्तानको जिम्मेवारी दिएको थियो।
आयरल्याण्डसँगको दुई टी–२० सिरिजका लागि हार्दिकको कप्तानीमा १७ सदस्य टोली घोषणा गरिएको छ। टोलीमा मध्यक्रमका ब्याटर राहुल त्रिपाठीले पहिलो पटक स्थान बनाएका छन्। त्रिपाठीले सनराइजर्स हैदराबादबाट आईपीएलको यस सिजनमा १४ खेलमा ४१३ रन बनाएका थिए।
यता, मध्यक्रमका आक्रामक ब्याटर सञ्जु स्यामसन र सूर्यकुमार यादवले पनि टोलीमा पुनरागमन गरेका छन्। भारत र आयरल्याण्डबीचको दुई टी–२० आई खेल २६ जुन र २८ जुनमा डुबलिनमा हुनेछ।
भारतको पहिलो रोजाईको टोली भने इङ्ग्याण्ड भ्रमण गर्ने छ। उसले त्यहाँ गतवर्ष स्थगित भएको पाँचौं टेस्ट, ३ ओडीआई र ३ टी–२० आई सिरिज खेल्ने छ।
भारतको टी–२० टोली :
हार्दिक पान्ड्या (कप्तान), भुवनेश्वर कुमार (उपकप्तान), ईशान किशन, ऋतुराज गायकवाड, सञ्जु स्यामसन, सूर्यकुमार यादव, वेंकटेश ऐर, दीपक हुडा, राहुल त्रिपाठी, दीनेश कार्तिक, युजभेन्द्र चहल, अक्षर पटेल, रवि विश्रोई, हर्षल पटेल, आवेश खान, अर्शदीप सिंह र उमरान मलिक।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।