काठमाडौं– नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा घरेलु टोली अमेरिकासँग पराजित भएको छ।
बिहीबार बिहान सम्पन्न खेलमा नेपाल ३९ रनले पराजित भएको हो। जितको लागि २४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४७.४ ओभरमा २०६ रनमा अलआउट भयो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रनको इनिङ्स खेले। उनले ७६ बलमा ३ चौका प्रहार गरे। आरिफको ओडीआई करिअको यो तेस्रो अर्धशतक हो।
यता, सोमपाल कामी ७२ बलमा १ चौकासहित ४७ रनमा रन आउट भए। देव खानाले ४७ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए।
आसिफ शेख १८, रोहितकुमार पौडेल १६, कुशल भुर्तेल १० र दिपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए। अमेरिका सौरभ नेत्रवालकर र अली खानले ३/३ विकेट लिए।
त्यसअघि मुसा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४५ रन बनाएको थियो। अमेरिका गजानन्द सिंहले सर्वाधिक ५८ रनको इनिङ्स खेले। उनले ६० बलमा ५ चौका र १ छक्का प्रहार गरे।
सुशान्त मोदानीले ८३ बलमा ७ चौकासहित ५४ रन बनाए। खराब सुरुआत गरेको अमेरिकालाई तेस्रो विकेटका लागि सुशान्त र आरोन जोन्सले ८८ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए।
जोन्सले ६० बलमा ३ चौकासहित ४३ रन प्रहार गरे। यता, पाँचौं विकेटका लागि जोन्स र साइतेजा मुक्कामल्लाले ८५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। मुक्कामल्ला ५२ बलमा ३ चौकासहित ३६ रनमा आउट भए। निसर्ग पटेल १८ र क्यामरन स्टिभन्स १६ रनमा अविजित रहे।
नेपालका लागि करण केसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए। कप्तान सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीको नाममा १/१ विकेट रह्यो।
नेपाल अमेरिका भ्रमणमा पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकासँग खेल टाइ हुँदा तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले हराएको थियो।
नेपाल १६ खेलमा ७ जित र ८ हारका साथ १५ अंक जोड्दै अंक तालिममा पाँचौं स्थानमा छ। यता, अमेरिका २४ खेलमा ११ जित र १२ हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ। ओमान ३६ खेलमा २१ जित र १३ हारका साथ ४४ अंक जोड्दै शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।