काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले आसन्न एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपका लागि १५ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको छ।
आगामी असार ३ गतेदेखि ११ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि क्यानले रूबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो।
प्रारम्भिक टोलीमा रहेका १९ खेलाडीबाट नेपालले अन्तिम टोलीको घोषणा गरेको हो। टोलीमा कप्तान रूबिनासँगै उपकप्तान इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, मनिषा उपाध्याय, डोली भट्ट, विन्दु रावल, संगीता राई, अपसरी बेगम, काजोल श्रेष्ठ र सबनम राई छनोट भएका छन्।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा बहराइन, भुटान, हङकङ र कुवेत छन्। त्यसैगरी, समूह ‘ए’ मा आयोजक मलेसिया, ओमान, कतार, सिंगापुर र संयुक्त अरब इमिरेट्स (युएई) छन्। समूह चरणका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।