काठमाडौं– लमजुङमा सञ्चालित तीन विद्युत आयोजनाको विद्युत उत्पादन १२ घण्टा बन्द हुने भएको छ।
७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द हुने भएको हो।
गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको हो।
प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत उत्पादन बन्द हुने विद्युत प्राधिकरणले जनाएको छ।
पहिरोले मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो। प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो।
अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ। आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ। यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ। यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युतगृहबाट उत्पादित विद्युत पनि बन्द हुने छ।
करिब १५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने छ। आइतबार मध्यमर्स्याङ्दीबाट विद्युत उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत निर्यात कम हुने छ। शुक्रबार करिब साढे २ सय मेगावाट विद्युत निर्यात हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।