काठमाडाैं-नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा केहीबेरपछि सुरु हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
नेपाल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आजको खेलमा तीन परिवर्तन गरेका छन्। विकेटकिपर विनोद भण्डारीसँगै ओपनरद्वय सुवास खकुरेल र सुनील धमला बेन्चमा राखेका छन्।
उनले पहिलो रोजाईका आसिफ शेख, कुशल भुर्तेल र आदिल अन्सारीलाई मौका दिएका छन्।
यस प्रतियोगिताको तयारी गर्दै गर्दा उनीहरु घाइते भएका थिए। जसकारण उनीहरुले ओमानविरुद्धको पहिलो खेल गुमाएका थिए।
कुशल र आसिफ टोलीमा फर्किँदा सुनील धमला र सुवास खकुरेललाई बेञ्चमा राखिएको छ। ओमानवविरुद्धको खेलमा ओपनर सुवास ३ रनमा बोल्ड भएका थिए। त्यस्तै, पाँच वर्षपछि सिनियर टोलीमा फर्किँदै ओडीआईमा डेब्यू खेल खेलेका सुनिल ३८ बलमा १२ रन बनाउँदै बोल्ड भएका थिए।
आदिलको यो ओडीआईमा डेब्यू खेल हो। उनी नेपाली राष्ट्रिय टोलीमा डेब्यू गर्ने ३२औं खेलाडी हुन्।
यस सिरिजमा नेपाल पहिलो र अमेरिका लगातार दोस्रो जितको सोचमा छ। अमेरिकाले पहिलो खेलमा ओमानलाई ३ सय २३ रन प्रहार गर्दै ११४ रनको सानदार जित हात पारेको थियो यता, नेपाल भने पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सुशान भारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।