काठमाडौं– आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर नेपाली टोली शनिबार स्वदेश फिर्ता भएको छ। मलेसियामा सम्पन्न प्रतियोगिता खेलेर नेपाली टोली शनिबार बिहान काठमाडौं ओर्लिएको हो।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनाल र जयन्ती भट्टसँगै बोर्डका कार्यकारी सदस्यहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
प्रतियोगिताका ५ खेल खेलेको नेपालले ३ मा जित र २ खेलमा हार बेहोरेको थियो। छनोटका दुई खेलमा पराजित भएपछि दक्षिण अफ्रिकामा २०२३ मा पहिलोपटक आयोजना हुने यू–१९ विश्वकप खेल्ने मौका गुमाएको थियो।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। यस्तै, दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो। जसक्रममा नेपाल युएईसँग ८ रनमा अलआउट भएको थियो।
तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको नेपाल चौंथो खेलमा थाइल्यान्डसँग ४९ रनले पराजित भएपछि नेपालको पहिलोपटक विश्वकप खेल्ने सपना समाप्त भएको थियो।
अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।