काठमाडौं– अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले आगामी टी–२० विश्वकपमा अस्ट्रेलियाको तीव्र गति र उछालपूर्ण पिचमा ऋषभ पन्त झन् खतरनाक साबित हुने विश्वास व्यक्त गरेका छन्।
दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षकका रूपमा पोन्टिङले पन्तसँग नजिकबाट काम गरिसकेका छन्। उनी पन्तको खेलका ठूलो प्रशंसक हुन्।
आईसीसी समीक्षामा पोन्टिङले भने, ‘उनी (पन्त) एक महान युवा खेलाडी हुन् र सारा विश्व उनको पाइलामा छ। उनी अष्ट्रेलियाको तीव्र गति र उछालपूर्ण पिचमा निकै खतरनाक ब्याट्सम्यान साबित हुन सक्छन्। टी–२० विश्वमा कपमा सबैको नजर उनमा हुनेछ। उनलाई खेलको अवस्था अनुसार फ्लोटरको रूपमा प्रयोग गर्नुपर्छ।’
पोन्टिङले ब्याटिङ अर्डरमा पन्तका लागि कुनै निश्चित स्थान नहुनु पर्ने धारणा राखेका छन् । खेलको अवस्था अनुसार उनी ब्याटिङमा आउनैपर्ने उनले बताए।
उनले भने, ‘म उनलाई फ्लोटरको रूपमा राख्छु। भारतीय टोलीमा म उनलाई पाँचौं नम्बरमा राख्छु। उनी एकदमै आक्रामक खेलाडी हो र म उसलाई यसरी प्रयोग गर्न चाहन्छु।’
दक्षिण अफ्रिकाविरूद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलअघि पन्तलाई भारतीय टोलीमा फ्लोटरको भूमिकाबारे सोधिएको थियो।
जवाफमा पन्तले भनेका थिए, ‘यो खेलको स्थितिमा निर्भर गर्दछ। यदि हामीलाई फ्लोटिङ्ग ब्याटिङ अर्डर आवश्यक छ जस्तो लाग्छ भने हामी त्यसो गर्नेछौं। यस्तो अवस्थामा यस्तो ब्याटिङ अर्डरको आवश्यकता छ जस्तो मलाई लाग्दैन।’
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पन्तले १४ खेलमा ३ सय ४० रन मात्र बनाएका थिए। पोन्टिङका अनुसार पन्त आफ्नो प्रदर्शनबाट निकै निराश थिए।
उनले भने,‘यो उनको उत्कृष्ट प्रदर्शन थिएन। उनी आईपीएलको यो सिजनबाट धेरै निराश थिए। मैले भर्खरै उनीहरूलाई यो टी–२० म्याच हो भनेर सम्झाएँ। १५ वा १८औं बलमा एउटा गल्तीले तपाईंको इनिङ्स समाप्त गर्न सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।