नयाँदिल्ली-डेविड मिलर र भान डर डुसेनको १३१ रन शतकीयको साझेदारीमा दक्षिण अफ्रिकाले पहिलो टी-२० आई खेलमा भारतलाई पराजित गरेको छ। बिहीबार बेलुका सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले पराजित गरेको हो।
योसँगै ५ टी-२० आई सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ।
जितका लागि २ सय १२ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्याे। दक्षिण अफ्रिका जितमा डेविड मिलर सर्वाधिक ६४ रनमा अविजित रहे। उनले ३१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।
यता, अनुभवी ब्याटर भान डर डुसेन ४६ बलमा ७ चौका र ५ छक्कासहित ७५ रनमा अविजित रहे।
चौथो विकेटका लागि मिलर र डुसेनले १३१ रनको सानदार शतकीय साझेदारी गर्दै दक्षिण अफ्रिकाको कीर्तिमानी जित हात पारे।
ड्वेन प्रिटोरियसले १३ बलमा १ चौका र ४ छक्कासहित २९ रन जोडे।
ओपनर क्विन्टन डि कक २२ र टेम्बा बभुमा १० रनमा आउट भए। भारतका हर्षल पटेल, भुवनेश्वर कुमार र अक्षर पटेलले १/१ विकेट लिए।
त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनायो।
भारतका ओपनर ईशान किशनले सर्वाधिक ७६ रन बनाए। उनले ४८ बलमा ११ चौका र ३ छक्का प्रहार गरे। यता, हार्दिक पान्ड्या १२ बलमा २ चौका र ३ छक्कासहित ३१ रनमा अविजित रहे।
श्रेयस ऐरले २७ बलमा १ चौका र ३ छक्कासहित ३६ रन बनाए । कप्तान ऋषभ पन्त १६ बलमा २ चौका र २ छक्कासहित २९ रनमा आउट भए।
ओपनर ऋतुराज गायकवाड १५ बलमा ३ छक्कासहित २३ रनमा आउट भएका थिए।
दक्षिण अफ्रिका केशव महाराज, एनरिच नोर्किया, ड्वेन प्रोटिरियोस र वेन पार्नेलले १/१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।