काठमाडाैं- नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा ओमानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।
ओमानविरुद्धको खेलमा सुनील धमलाले डेब्यू गरेका छन्। धमला २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन्। उनी अघिल्लो महिना जिम्बावे ए सँगको सिरिजमा राम्रो प्रदर्शन गरेपछि टोलीमा फर्किएका थिए।
सुनीललाई उपकप्तान रोहित पौडेलले डेब्यू क्याप दिएका थिए। उनले ओपनिङमा सुवास खकुरेललाई साथ दिने छन्। विश्वकप क्रिकेट लिग–२ को अभ्यास र अभ्यास खेलका क्रममा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख घाइते भएपछि सुवासलाई अमेरिका बोलाइएको थियो।
सुवास २०२० पछि नेपाली टोलीमा फर्किएका हुन्। सुवासले पछिल्लो पटक नेपालका लागि २०२० मा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज खेलेका थिए। घरेलु भूमिमा भएको सिरिजका लागि राष्ट्रिय टोलीमा समावेश गरिएका शरद भेषवाकर घाइते भएपछि सुवासले मौका पाएका थिए।
तर, उनले प्रभावशाली खेल देखाउन सकेनन्। तीन खेल खेल्दा उनले जम्मा २५ रन बनाए। एउटा खेलमा डकआउट भएका उनले ओमानविरुद्ध २२ रन बनाएका थिए। सुवासले पाँच ओडीआई खेल्दै एक अर्धशतकसहित जम्मा ९४ रन बनाएका छन्। उनको स्ट्राइक रेट ५०.५३ छ। उनले २०१८ अगष्ट ३ मा ओडीआई डेब्यु गर्दै नेदरल्यान्डसविरुद्ध १९ रन बनाएका थिए।
२०१८ सेप्टेम्बर ३० मा एसिया कप छनोटअन्तर्गत युएईविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका थिए। मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आजको खेलमा कुशल भुर्तेल, सागर ढकाल, आदिल अन्सारी, किशोर महतोलाई भने बेन्चमा राखेका छन्।
अन्तिम ११ : सन्दीप लामिछाने, राेहित पाैडेल, आरिफ शेख, सुशन भारी, करण केसी, विनाेद भण्डारी, साेमपाल कामी, दीपेन्द्र सिंह ऐरी, देव खनाल, सुनील धमला र सुवास खकुरेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।