काठमाडाैं-अस्ट्रेलियाली फास्ट बलर मिचेल स्टार्कले श्रीलंकाविरूद्धको टी–२० सिरिजका बाँकी खेल गुमाउने भएका छन्। श्रीलंकाविरूद्धको पहिलो टी-२० खेलमा औंलामा चोट लागेपछि उनले सिरिजका बाँकी खेल गुमाउने भएका हुन्।
चोट लागे पनि उनले तीन ओभर बलिङ गरेका थिए। उनले २६ रन दिएर तीन विकेट पनि लिए। तर, चोट गहिरो रहेका कारण उनी दोस्रो टी–२० खेल्नबाट बञ्चित भएका थिए।
चोट बोके पनि स्टार्क टोलीसँगै प्रशिक्षणमा रहनेछन्। तर, उनको चोट पूर्णरूपमा निको हुन कम्तिमा एक साता लाग्ने अनुमान गरिएको छ। यसको स्पष्ट अर्थ उनले श्रीलंकाविरूद्धको पल्लेकल स्टेडियममा मंगलबारबाट सुरू हुने एकदिवसीय सिरिजको पहिलो खेल खेल्न गुमाउने भएका छन्।
उनको स्थानमा जे रिचर्डसनलाई एकदिवसीय सिरिज खेल्ने टोलीमा समेटिएको छ। श्रीलंकाविरूद्धको दोस्रो टी–२० खेलमा रिचर्डसनले २६ रन दिएर तीन विकेट लिएका थिए।
टी–२० टोलीमा रहे पनि रिचर्डसन सुरूमा एकदिवसीय टोलीबाट बाहिरिएका थिए। उनी हम्बनटोटामा अस्ट्रेलिया ए को चार दिवसीय खेल खेल्ने तयारीमा थिए, जुन श्रीलंकामा हुने एकदिवसीय सिरिजसँगै हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।