काठमाडौं– संयुक्त अरब ईमिरेट्स (युएई) आगामी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ महिला टी–२० विश्वकपको लागि छनोट भएको छ।
मलेसियामा सम्पन्न आईसीसी यू–१९ महिला टी२० विश्वकप एसिया क्षेत्र छनोटमा अन्तिम खेलमा थाइल्यान्डलाई ६ विकेटले हराउँदै यूएई विश्वकपमा पुगेको हो। युएई जारी प्रतियोगितामा अपराजित रहने एक मात्रै टोली हो।
जितको लागि ८५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युएईले १७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। युएईकी कप्तान थ्रीर्थ सतिश सर्वाधिक ३८ रनमा अविजित रहिन्। उनले ३८ बलमा ४ चौका प्रहार गरिन्।
त्यसअघि किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको थाइल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको थियो। थाइल्यान्डकी फनिता मायाले सर्वाधिक ४० रन बनाइन्। उनले ३९ बलमा ६ चौका प्रहार गरिन्।
६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष पहिलो पटक हुने यू–१९ महिला विश्वकप खेल्न पाउने प्रावधान थियो। युएईले ५ खेलमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको हो।
युएईले भुटानलाई १ सय ६० रन, नेपाललाई १० विकेट, मलेसियालाई ९ विकेट र कतारलाई १० विकेटले हराएको थियो। नेपाललाई १० विकेटले हराउने क्रममा युएईले मात्र ८ रनमा अल आउट गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।