काठमाडौं– ह्विलचेयर क्रिकेट संघ नेपालले नेपाल र भारतबीच टी–२० इन्टरनेशनल ‘फिजिकल्ली च्यालेन्ज्ड क्रिकेट सिरिज’ आयोजना गर्ने भएको छ।
संघले बुधबार एक कार्यक्रम गर्दै सिरिज मुलपानी क्रिकेट स्टेडियममा जेठ २७ गतेदेखि ३० गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो।
आयोजक कमिटीका डाइरेक्टर रवीन्द्र गुप्ताका अनुसार यस प्रतियोगिताका नियम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नियमअनुसार नै सञ्चालन हुने बताए।
‘टी–२० फर्म्याटमा खेलाइने यस प्रकारको क्रिकेटलाई स्ट्याण्डिङ क्रिकेट भनिन्छ। जसमा दौडन नसक्ने व्यक्तिको बदलामा अतिरिक्त रनर राखिन्छ। बाँकी सबै आइसीसीको नियमअनुसार खेलाइन्छ,’ उनले भने।
उनका अनुसार स्ट्याण्डिङ क्रिकेट विश्वकपको लागि समेत पहल सुरु भइसकेको छ।
‘आईसीसी फिजिकल्ली च्यालेन्डले हामीलाई तयारी अगाडि बढाउनुस् भन्नु भएको छ। विश्वकप २०२३ मा हुनेछ,’ उनले भने। यद्यपि, यसको आधिकारिक निर्णय हुन भने बाँकी रहेको उनले जानकारी दिए।
नेपाली टोलीका कप्तान आरपी खरेलले भारतको टोली राम्रो भएको भन्दै नेपालले पनि त्यतिकै चुनौती दिने बताए। ‘अघिल्लो सिरिजको तुलनामा भारतीय टोलीमा धेरै नयाँ खेलाडी थपिएका छन्। तर, नेपालले पनि राम्रो चुनौती दिने छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।