काठमाडौं– यसैवर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकपको तयारीमा रहेको भारतीय क्रिकेट टोलीले दक्षिण अफ्रिकासँग ५ खेलको टी–२० सिरिज खेल्ने तयारी गरेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) सकिएलगत्तै मुख्य खेलाडीहरूलाई आराम दिएर यो सिरिज आयोजना गर्न लागिएको हो। यस सिरिजका लागि मुख्य खेलाडी अनुपस्थित हुँदा टोलीमा नयाँ खेलाडीलाई आफ्नो दावेदारी गर्ने यो उत्कृष्ट अवसरको रुपमा लिइएको छ।
सिरिजका लागि भारतीय टोलीमा एक मात्र बायाँ हाते तीव्र गतिका युवा बलर अर्शदीप सिंहको नाम पनि छनोट भएको छ।
पञ्जावका अर्शदीपले हालै सम्पन्न आईपीएलको १४ खेलमा ७.७० को इकोनोमी रेटले १० विकेट लिएका थिए। यसै कारण उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टिममा बोलाइएको हो। यही नोभेम्बरमा टी–२० विश्वकप पनि हुँदैछ। यस्तो अवस्थामा उनको करिअरलाई लिएर थुप्रै आशा गर्न सकिन्छ।
अर्शदीप सानैदेखि क्रिकेटको सौखिन थिए। क्रिकेटप्रति उनको लगाव देखेर नै परिवारले उनलाई एकेडेमीमा भर्ना गर्ने निर्णय गरिएको थियो।
अर्शदीपको बुवा केन्द्रीय औधोगिक सुरक्षा बल (सीआईएसएफ) का जागिरे थिए। उनको हरेक महिना एउटा ठाउँबाट अर्को ठाउँमा सरुवा भइरहन्थ्यो। यस्तो अवस्थामा अर्शदीपलाई एकेडेमीमा क्रिकेट सिक्न निकै गाह्रो पर्न सक्थ्यो। तर, उनले सबै ट्रेनिङ पञ्जावमै बसेर पूरा गरे।
यसका लागि उनी आफ्नो आमालाई सबैभन्दा बढी श्रेय दिन्छन्। उनका अनुसार बिहान सबै कामधन्दा सकेपछि उनलाई आमाले चण्डीगढदेखि १३ किलोमिटर टाढा साइकलको पाइडल पेलेर अभ्यासमा लैजाँन्थिन्।
‘मेरो प्राक्टिस पूरा नहुँदासम्म आमा त्यही बस्नुहुन्थ्यो, साँझ नहुँदासम्म। ४ वर्ष उहाँले यसरी नै मेरो लागि समय दिनुभयो,’ उनी भन्छन्।
समय दिन नसके पनि बुवाले आफ्नो हरेक क्रियाकलापमा सहयोग गरेको उनी बताउँछन्। ‘उहाँ सधै मसँग बस्न पाउनु हुन्नथ्यो। तर, जति समय मसँग बस्नुहुन्थ्यो मेरो खेलमा मात्र ध्यान दिनुहुन्थ्यो,’ उनले भने, ‘यू–१९ मा मेरो खासै प्रदर्शन नभएपछि बुवा मलाई क्यानडा पठाउन चाहनुहुन्थ्यो। तर, मैले उहाँसँग एक वर्ष मागेको थिए। जुन अहिले तपाईंहरू सामू छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।