काठमाडौं– न्यूजिल्याण्ड महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा बेन सोयर नियुक्त भएका छन्। अस्ट्रेलियाको महिला टोलीका सहायक प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका बेन दुई वर्षको लागि नियुक्त भएका हुन्।
उनको प्रशिक्षणमा टोलीले पहिलो प्रतियोगिता जुलाईमा हुने कमनवेल्थ गेम्स खेल्ने छ। त्यसपछि न्यूनिल्याण्डले वेस्ट इन्डिजको भ्रमण गर्ने छ।
‘म यो स्थितिबाट आफ्नो करिअर सुरु गर्न तत्पर छु, यो टोलीलाई नयाँ उचाइमा लैजान चाहन्छु,’ उनले भने। सेन्ट्रल कन्ट्रयाक्टलाई लिएर निकै विवाद भइरहेको बेला बेन न्युजिल्याण्डको टोलीमा आवद्ध भएका हुन्। सेन्ट्रल कन्ट्रयाक्ट नपाएपछि अनुभवी ब्याट्सम्यान एमी सेटरथवेटले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकी छन्।
सम्झौतामा तीव्र गतिका बलर लिया ताहुहुको नाम पनि समावेश छैन। यस्तो अवस्थामा बेनले अर्को वर्ष हुने टी–२० विश्वकपका लागि युवा खेलाडीलाई तयार पार्नुपर्ने हुन्छ। घरेलु मैदानमा भएको एकदिवसीय विश्वकपमा न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्न सकेको थिएन।
यद्यपि, कप्तान सोफी डेभिनले बेको आगमनसँगै उत्साहित बनेकी छन्। ‘हामी सबै बेनको अनुभवको अधिकतम उपयोग गर्न चाहन्छौं। अस्ट्रेलियाली टोलीको हालैको प्रदर्शनमा उहाँको ठूलो योगदान रहेको छ र हामी विश्वस्त छौं, उहाँले न्यूजील्याण्डको पनि बलियो टोली निर्माण गर्नेछन्,’ उनले भनिन्।
बेन द हन्ड्रेड प्रतियोगितामा बर्मिङ्घम फिनिक्सको प्रशिक्षक थिए। यसअघि उनले महिला बीबीएलमा सिड्नी सिक्सर्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।