काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि सुवास खकुरेललाई नेपाली राष्ट्रिय टोलीमा बोलाइएको छ।
सिरिजअघि खेलिएको अभ्यास खेलको क्रममा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल घाइते भएपछि खकुरेललाई राष्ट्रिय टोलीमा समेट्ने निर्णय गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार अभ्यास खेलको क्रममा ओपनरद्वय आसिफ र कुशल घाइते भएका हुन्। नेपाल टोलीका नियमित विकेटकिपरसमेत रहेका आसिफको नेपाली अलस्टारविरुद्धको खेलअघि अभ्यासको क्रममा घाइते भएका हुन्।
उनको घुँडामा चोट लागेको मल्लले जानकारी दिए। यता, कुशल भने ह्यूस्टन हुरिकेन्सबीचको खेलमा घाइते भएका हुन्। उनी फिल्डिङ गर्ने क्रममा घाइते भएको मल्लले पुष्टि गरे।
१५ जना खेलाडीसहित अमेरिका पुगेको नेपाली टोली दुई मुख्य खेलाडी घाइते भएपछि समस्यामा परेको छ। र, उनीहरु सिरिज अगाडि नै समयमै ठिक हुने अनुमान गरिएको छ।
त्यसैका लागि नेपाली टोली व्यवस्थापनले विकेटकिपर ब्याट्सम्यान खकुरेललाई व्याकअपको रूपमा अमेरिका बोलाउने निर्णय गरेको क्यानले जनाएको छ।
विश्वकप लिग–२ अन्तर्गतको सिरिज जेठ २६ देखि सुरु हुँदैछ। नेपालले जेठ २६ गते ओमान, २८ गते अमेरिका, ३१ गते ओमान र असार १ गते अमेरिकाविरुद्ध खेल्दैछ।
आसिफ र कुशलको स्थानमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सुनील धमला, खकुरेल र देव खनालमध्ये दुई जनालाई ओपनिङमा उतार्ने सम्भावना रहेको छ।
धमाल विकेटकिपर समेत हुन्। उनले लामो समयपछि नेपाली टोलीमा पुनरागमन गरेका छन्। यता, देव विदेशी भूमिमा पहिलोपटक सिनियर टोलीसँग खेल्ने तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।