काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिज अघि नेपाली टोलीका दुई ओपनर घाइते भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार अभ्यास खेलको क्रममा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल घाइते भएका हुन्।
नेपाल टोलीका नियमित विकेटकिपरसमेत रहेका आसिफ नेपाली अलस्टारविरुद्धको खेलअघि अभ्यासको क्रममा घाइते भएका हुन्। उनको घुँडामा चोट लागेको मल्लले जानकारी दिए। यता, कुशल भने ह्यूस्टन हुरिकेन्ससँगको खेलमा घाइते भएका हुन्। उनी फिल्डिङ गर्ने क्रममा घाइते भएको मल्लले पुष्टि गरे।
‘आसिफ पहिलो अभ्यास खेलअघि घाइते भएका हुन्। कुशल चाँही दोस्रो अभ्यास खेलमा घाइते भएका हुन्। आसिफ खेल्न नै नसक्ने अवस्थामा पुगेपछि शनिबार भएको नेपाल र ह्यूस्टन हुरिकेन्सबीचको खेलमा पनि टोलीमा थिएनन्,’ मल्लले नेपाल लाइभसँग भने।
कुशलले भने शनिबार सम्पन्न ह्यूस्टन हुरिकेन्ससँगको खेल खेलेका थिए। उनी ४ रन बनाएर पेभिलियन फर्केका थिए। उनलाई ह्याम्स्ट्रिङ समस्या भएको मल्लले जानकारी दिए।
१५ जना खेलाडीसहित अमेरिका पुगेको नेपाल टोली दुई मुख्य खेलाडी घाइते भएपछि समस्यामा परेको छ। दुवैले खेल्न नसक्ने भए अन्यलाई अमेरिका लैजाने या त्यही भएको खेलाडीलाई मैदान उतार्नेबारे छलफल भइरहेको मल्लले जानकारी दिए।
‘दुवै खेलाडी घाइते भएपछि उनीहरुको स्थानमा अन्यलाई खेलाउनुपर्ने वाध्यता छ। अहिले अमेरिकामा पनि उनीहरुको स्थान लिने खेलाडी छन्। यता, नेपालमा पनि छन्। अब को लाने या उताबाटै को खेलाउने भन्नेबारे छलफल गरिरहेका छौं,’ उनले भने।
विश्वकप लिग–२ अन्तर्गतको सिरिज जेठ २६ देखि सुरु हुँदैछ। नेपालले जेठ २६ गते ओमान, २८ गते अमेरिका, ३१ गते ओमान र असार १ गते अमेरिकाविरुद्ध खेल्दैछ। आसिफ र कुशलको स्थानमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सुनील धमला र देव खनालाई ओपनिङमा उतार्ने सम्भावना रहेको छ।
धमाल विकेटकिपर समेत हुन्। उनले लामो समयपछि नेपाली टोलीमा पुनरागमन गरेका छन्। यता, देव विदेशी भूमिमा पहिलोपटक सिनियर टोलीसँग खेल्ने तयारीमा छन्।
नेपाल टोली–
सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, आरिफ शेख, विनोद भण्डारी, सुनील धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, सागर ढकाल र किशोर महतो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।