काठमाडौं– भारतीय टोलीका कप्तान रोहित शर्मालाई दक्षिण अफ्रिकाविरूद्धको ५ टी–२० आई सिरिजमा विश्राम दिइएको छ। उनी यो सिरिजका लागि टिममा परेका छैनन्। योसँगै पूर्वफास्ट बलर आरपी सिंहले छनोटकर्ताको यो निर्णयप्रति प्रश्न उठाएका छन्।
उनले रोहित शर्मालाई विश्राम दिन आवश्यक नरहेको बताए। दक्षिण अफ्रिकाविरूद्धको ५ टी–२० सिरिजका लागि भारतले आफ्ना केही प्रमुख खेलाडीलाई विश्राम दिएको छ।
रोहितलाई विश्राम दिइएकोले यस सिरिजमा भारतीय टोलीको कप्तानी केएल राहुलले गर्नेछन्। रोहितका अलावा विराट कोहली र जसप्रित बुमराह जस्ता सिनियर खेलाडीलाई पनि यो सिरिजमा विश्राम दिइएको छ। अर्कोतर्फ दक्षिण अफ्रिकाको कुरा गर्ने हो भने, उनीहरूले आफ्ना लगभग सबै प्रमुख खेलाडीलाई टोलीमा स्थान दिएको छ।
आरपीका अनुसार रोहितले यो सिरिज खेल्नुपर्ने थियो। किनभने रोहित टोलीको कप्तान पनि हुन्। इन्डिया टिभीमा एक कुराकानीको क्रममा आरपीले भने, ‘मैले विचारमा उनले सिरिज खेल्नुपर्ने थियो। विश्राम लिने या नलिने यो उनैको विचार हो। उनी कत्तिको थाकेका थिए, त्यसमा पनि भर पर्छ। तर, मलाई लाग्दैन कि उनलाई विश्रामको आवश्यकता छ। लामो सिरिज भएकाले उनले खेल्नुपर्छ र उनी कप्तान पनि हुन्।’
रोहितले हालैसालै इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका थिए। जसमा उनको प्रदर्शन सम्झनलायक थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।