काठमाडौं- अङ्ग्रेजीमा एउटा उखान छ – कन्ट्रोभर्सी फेवरेट चाइल्ड। सरल भाषामा भन्नुपर्दा यस्ता व्यक्ति, जो केही नगरी पनि समाचारको हेडलाइन बनिरहन्छन्। इन्डिय प्रिमियर लिग (आईपीएल)को सन्दर्भमा यो पगरी राजस्थान रोयल्सका युवा अलराउन्डर रियान परागको टाउको गुथिन्छ।
परागले आईपीएल २०२२ मा आफ्नो टोलीका लागि थोरै ब्याटिङ, थोरै बलिङ र धेरै फिल्डिङ गरे। राजस्थान फाइनलमा पुगेको थियो, जहाँ नवप्रवेशी गुजरात टाइटन्ससँग पराजित भयो।
खैर, यो कुरा सर्वबितितै छ। र, यो समाचार यस सिजनको बारेमा पनि होइन। तर, यस समाचारलाई अगाडि बढाउनु अघि यति चाँही भन्नुपर्छ, पराग यस सिजनमा पनि विवादरहित रहन भने सकेनन्।
रविचन्द्र आश्विनसँग रनआउट हुनुदेखि फिल्डिङमा देवदत्त पडिक्कललाई दोष लगाउनेसम्मका घटनामा उनी मुछिए। समर्थकहरूले परागलाई सामाजिक सञ्जालमा निकै ट्रोल गरे। '…नाम बडे, काम छोटे, मनोवृत्ति विराट सा, क्षमता पराग सी...।'
अर्को विवाद २०२२ मा भयो। मोहम्मद सिराज र हर्षल पटेलसँग। तर, यसको पनि एक छुट्टै कथा छ। पहिले त्यहाँ जाऔं, सन् २०२१ मा।
त्यसबेला राजस्थान रोयल च्यालेन्जर्स बैंग्लोरविरूद्ध खेलिरहेको थियो। मुम्बईको वानखेडे स्टेडियममा राजस्थानको शीर्ष क्रम सुरूमै कमजोर सावित भयो। ४३ रनमा राजस्थानले ४ विकेट गुमाइसकेको थियो।
शिवम् दुबे र परागले सानो साझेदारी गरे। परागले केही राम्रा सट प्रहार गर्दै १५ बलमा ४ चौकासहित २५ रन बनाए। अर्को बलमा लामो सट प्रहार गर्ने प्रयास गर्दा पराग आउट भए। उनलाई आउट गर्ने क्रममा हर्षलले हातले पेभेलियनतर्फ इशारा गरे। त्यो कुरा त्यहीँ टुंगियो।
तर, परागलाई त्यो कुरा याद आयो, आईपीएल २०२२ को ३९औं खेलमा। दुवै टोली एमसीए स्टेडियममा एकपटक पुन: आमनेसामने भए। राजस्थानको शीर्ष क्रम फेरि ध्वस्त भयो, ६८ रनमा ४ विकेट।
परागले फेरि इनिङ्स सम्हालेका थिए। हर्षलले अन्तिम ओभर बलिङ गरिरहेका थिए र परागले २ छक्का प्रहार गर्दै टोलीको कुल स्कोर १४४ रनमा पुर्याए। अन्तिम बलमा छक्का प्रहार गर्दै परागले हर्षललाई हातले पेभेलियनतर्फ इशारा गरे। ठ्याक्कै २०२१ मा हर्षलले उनलाई गरेजस्तै।
यो पूरै घटनालाई लिएर निकै विवाद भएको थियो। आईपीएल सकिए पनि परागले अहिले उक्त विवादबाट मुक्त हुन सकेका छैनन्।
स्ट्रिमिङ राउटरमा उनले भने- गत वर्ष (२०२१ मा) हर्षलले मलाई आउट गरेका थिए। म चुपचाप फर्किँदै थिएँ। उसले आफ्नो हातले इशारा गर्दै भने- निकल... ! मैले त्यो बेला देखिनँ। तर, होटलको कोठामा फर्केर हेर्दा रिप्लेमा देखें। ऊ मेरो मष्तिकमा बस्यो। त्यसपछि जब मैले अन्तिम ओभरमा (२०२२ मा) छक्का प्रहार गरें, मैले उसलाई त्यही बाटो देखाएँ। न त मुखले केही बोलें, न गाली नै गरें। त्यसपछि सिराजले मलाईं बोलाए। सिराजले भने- तँ बच्चा होस्, बच्चा जस्तै भएर बस्। मैले सिराजलाई भनें- भाइ, मैले केही भनेको छैन! यही क्रममा दुवै टोलीका खेलाडी आए र कुरा त्यहीँ टुंगियो।
तर, परागका लागि यो सिजन खासै यादगार रहेन। १४ इनिङ्स खेल्दै परागले यो सिजन कुल १८३ रन बनाए। उनको औसत १६.६४ र स्ट्राइक रेट १३८ थियो। फिनिशरको भूमिका निर्वाह गरेका पराग अर्को वर्ष राजस्थान क्याम्पमा फेरि देखिए भने समर्थकहरूले आगामी सिजनमा उनले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।