काठमाडौं– लर्ड्समा इङ्ग्ल्याण्ड र न्यूजिल्याण्डबीचको पहिलो टेस्टमा मैदानमा निकै ‘ड्रामा क्रियट’ भएको थियो। २७७ रनको लक्ष्य पछ्याएको इङ्ग्लिस टोलीको सुरुआत राम्रो भएन। टोलीले ६९ रनको स्कोरमा ४ विकेट गुमाएको थियो।
यसपछि ‘बर्थडे ब्वाई’ बेन स्टोक्स मैदानमा उत्रिए। स्टोक्सले आफ्नो ३१औं जन्मदिन मनाइरहेका थिए र यो दिन भाग्यले उनलाई ठूलो साथ दियो। कोलिन डी ग्रान्डहोमले इङ्ग्ल्याण्डको इनिङ्सको २७औं ओभरमा स्टोक्सलाई ‘क्लिन बोल्ड’ गरे।
२७औं ओभरको तेस्रो बलमा ग्रान्डहोमले उत्कृष्ट ‘इनस्विङ’ बलमा स्टोक्सलाई ‘क्लिन बोल्ड’ गरेका थिए। त्यसपछि स्टोक्स दु:खी हुँदै पवेलियन फर्कन थाले। उनको अनुहारमा निराशा प्रष्ट देखिन्थ्यो। त्यसैबेला न्यूजिल्याण्डको टोली खुशी मनाउन व्यस्त थियो।
यद्यपि, न्यूजील्याण्डको उत्सव छोटो समयका लागि रह्यो। फिल्ड अम्पायर माइकल गफले यसलाई ‘नो बल’ भने। ग्रान्डहोमले ‘ओभरस्टेप’ गरेका थिए। त्यसपछि स्टोक्सले एक रन बनाएर ब्याटिङ गरिरहेका थिए। ग्रान्डहोमले स्टोक्सलाई जन्मदिनको उपहार दिए र स्टोक्स हाँस्दै क्रिजमा फर्किए।
न्यूजिल्याण्डविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङ्समा उनी ५४ रनमा आउट भएका थिए। स्टोक्सको नाममा धेरै कीर्तिमान छन्। उनी टेस्ट क्रिकेटमा ५ हजारभन्दा बढी रन र १५० भन्दा बढी विकेट लिने पाँचौं खेलाडी हुन्। उनी ग्यारी सोबर्स, इयान बोथम, कपिल देव, ज्याक कालिस जस्ता महान क्रिकेटरको सूचीमा समावेश भएका छन्।
लर्ड्स टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले १३२ रन बनाएको थियो। यता, इङ्ग्ल्याण्डको पहिलो इनिङ १४१ रनमा समेटिएको थियो। इङ्ग्ल्याण्डले पहिलो इनिङ्समा ९ रनको अग्रता लिएको थियो। दोस्रो इनिङ्समा न्यूजिल्यान्डले २८५ रन बनाएर २७७ रनको लक्ष्य दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।