काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी)को फाइनल खेल लर्ड्सको ऐतिहासिक मैदानमा आयोजना गर्ने तयारी गरेको छ।
गत वर्ष खेलिएको डब्ल्यूटीसीको फाइनल खेल लर्ड्समा हुने तय थियो। तर, कोरोना महामारीका कारण फाइनल खेल साउथह्याम्पटनमा खेलाइएको थियो। त्यसबेला बेलायतमा कोरोनासँग सम्बन्धित प्रतिबन्ध हटाइएको थियो। भारतलाई हराउँदै न्यूजिल्याण्ड पहिलो पटक विश्व टेस्ट च्याम्पियन बनेको थियो।
इङ्ल्यान्ड र न्यूजिल्यान्डबीच जारी टेस्ट म्याचको दोस्रो दिन चिया ब्रेकको समयमा आईसीसी अध्यक्ष ग्रेग बार्कले बीबीसीको टेस्ट म्याच विशेष कार्यक्रममा उपस्थित थिए।
‘मलाई लाग्छ कि यो (फाइनल खेल) हाम्रो अपेक्षा अनुसार लर्ड्समा निर्धारित छ,’ उनले भने, ‘जुन महिना भएकाले अन्य मैदानहरू पनि सम्भावित आयोजकको सूचीमा छन्। तर, हामी कोभिडबाट बाहिर छौं। हामीले सबै कार्यक्रम व्यवस्थित गर्न सक्छौं भने यो खेल लर्ड्समा नै हुनेछ।’
यस निर्णयलाई अन्तिम रूप दिन बाँकी छ। तर, आईसीसीले अर्को महिना हुने वार्षिक बैठकमा स्थानको घोषणा गर्ने अपेक्षा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।