काठमाडौं– आईसीसी यू–१९ महिला टी२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले युएईसँग १० विकेटले पराजित भएको छ।
जितको लागि ९ रनको विजयी लक्ष्य पछ्याएको युएईले १.१ ओभरमा पूरा गर्यो। युएईकी तीर्थ सतिश ४ रन र लवन्य केनी ३ रनमा अविजित रहिन्।
त्यसअघि मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८.१ ओभरमा ८ रनमा अल आउट भएको थियो।
नेपालकी स्नेहा महराले सर्वाधिक ३ रन बनाइन्। ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १/१ रनमा आउट भए। नेपालका ६ खेलाडीले खाता खोल्न सकेनन्।
युएईकी महिका गौरले ४ ओभरमा २ मेडनसहित २ रन खर्चेर ५ विकेट लिइन्। यता, इन्धुजा नन्दका कुमारले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन्। सिमराले १ विकेट लिइन्।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। युएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो।
६ टोली सहभागी छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलोपटक हुने यू-१९ टी२० महिला विश्वकप खेल्न पाउनेछ।
यो हारसँगै नेपालको शीर्ष स्थानमा रहँदै विश्वकप खेल्ने सपना कठिन बनेको छ। अब नेपालले तेस्रो खेलमा सोमबार भुटानसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।