काठमाडौं– शकिब अल हसनले पुन: टेस्ट क्रिकेटमा बंगलादेशको नेतृत्व सम्हाल्ने भएका छन्। यसअघि बंगलादेशका कप्तान मोमिनुल हक थिए। उनले मे ३१ गते राजीनामा दिएका थिए। उनले सन् २०१९ देखि बंगलादेशको कप्तानी सम्हाल्दै आएका थिए। यता, बंगलादेशको उपकप्तान लिटन दास बनेका छन्।
बंगलादेश क्रिकेट बोर्डका अध्यक्षले शकिबसँग छलफल गरेपछि नै कप्तान नियुक्त गरेको बताए। तर, कहिलेसम्म टोलीको कप्तानी गर्ने हुन् त्यो भने थाहा नभएको बताए। उनले भने, ‘मैले शकिबसँग कुरा गरेको छु र उनी खेल्न र यो पद सम्हाल्नका लागि उपलब्ध छन्। यद्यपि, शकिबले त्यसमा खेल्ने कि नखेल्ने हामी अहिले नै पुष्टि गर्न सक्दैनौं, त्यसैले शाकिब बंगलादेशको कप्तान कहिलेसम्म रहनेछन् भन्ने पनि स्पष्ट छैन।’
उनले कप्तानका लागि ३ जनाको नाम छनोट गरिएको र एक जनालाई कप्तान र एक जनालाई उपकप्तान बनाइएको पनि प्रष्टाएका छन्। ‘कप्तान छनोट गर्नेहरूले बैठक गरे र मलाई तीनवटा नाम दिए। तीमध्ये एक कप्तान र अर्को उपकप्तान छनोट गर्नुपर्ने थियो। यदि शकिबले कप्तानी जिम्मेवारी लिन अस्वीकार गरेको भए, हामी अरूलाई कप्तान बनाउने थियौं। हामी नयाँ कप्तान र उपकप्तान दुवै नियुक्त गर्न चाहन्थ्यौं। र, प्रारम्भिक छलफल पछि हामीले शकिब अल हसनलाई कप्तान र लिटन दासलाई उपकप्तान बनाउने निर्णय गर्यौं,’ उनले भने।
अक्टोबर २०१९ देखि बंगलादेशको टेस्ट टोलीको नेतृत्व गर्दै आएका मोमिनुल ब्याटिङमा संघर्ष गर्दा कप्तानको दबाबमा थिए। उनले २०२२ मा खेलेका ६ खेलमा १६.२० को औसतमा १६२ रन बनाए। मोमिनुलको नेतृत्वमा बंगलादेशले समग्रमा ३ टेस्ट जित्यो, १२ हार्यो र दुई टेस्ट बराबरी गर्यो।
३५ वर्षीय शकिब विगतमा धेरै पटक बंगलादेशको टेस्ट कप्तान भइसकेका छन्। सन् २००९ मा पहिलो पटक वेस्ट इन्डिजविरूद्धको खेलमा कप्तानी गरेका थिए। उनले २०१० मा ६ खेलहरूमा टोलीको कप्तानी गरे, र अगस्ट २०११ मा जिम्बाब्वेविरूद्ध टोलीको नेतृत्व गरे।
त्यसपछि शकिबले डिसेम्बर २०१७ मा मुस्फिकुर रहिमको स्थानमा बंगलादेशको टेस्ट कप्तानको जिम्मेवारी सम्हालेका थिए। शकिब झण्डै दुई वर्ष यो भूमिकामा रहे। २०१९ मा उनलाई सबै प्रकारको क्रिकेटबाट एक वर्ष प्रतिबन्ध लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।