काठमाडौं– भारतीय क्रिकेट टोलीका पूर्वकप्तान तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का वर्तमान अध्यक्ष सौरभ गांगुलीले बिहीबार आफ्नो नयाँ इनिङ्स घोषणा गरेका छन्।
४९ वर्षीय पूर्वखेलाडीले बीसीसीआईबाट राजीनामा दिएको हल्ला चलेको २० घण्टापछि सामाजिक सञ्जालमा आफ्नो नयाँ योजना सार्वजनिक गरेका हुन्।
गांगुलीले एकपछि अर्को गर्दै चारवटा पोस्ट गरेका छन्। एकमा उनको प्रमोशनल भिडियो पनि देख्न सकिन्छ। उनले अब शिक्षक र प्रशिक्षकहरूलाई सहयोग गर्ने बताएका छन्।
पोस्टमा लेखेका छन्, ‘विश्वका सबै शिक्षक र प्रशिक्षकका लागि केही गर्न चाहन्छु। अन्तिम पोस्टपछि मानिसहरूले मलाई प्रश्न गरिरहेका छन्। म संसारका सबै प्रशिक्षक, शिक्षक र शिक्षकहरूको लागि केही गर्न चाहन्छु। जुन आजबाट सुरु गर्दैछु। अब म ती सबैलाई सहयोग गर्न सक्रिय रूपमा काम गर्नेछु।’
गांगुलीले बुधबार एक पोस्ट गरेका थिए, जसमा लेखिएको थियो– ‘सन् २०२२ मेरो क्रिकेट यात्राको ३०औं वर्ष हो। अब म जनताको हित हुने काम गर्न चाहन्छु। ’
यो पोस्टपछि उनको राजीनामाको हल्ला फैलिएको थियो। तर, केही समयपछि बीसीसीआईका सचिव जय शाहले यसलाई अस्वीकार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।