मुम्बई– भारतले जुलाईमा सीमित ओभरको सिरिजका लागि वेस्ट इन्डिज र अमेरिकाको भ्रमण गर्ने भएको छ। २२ जुलाईदेखि ७ अगस्टसम्म हुने यस भ्रमणमा ३ एकदिवसीय र ५ टी–२० आई खेल हुनेछन्।
एकदिवसीय सिरिजका ३ खेल क्रमशः जुलाई २२ देखि २७ सम्म त्रिनिडाडको क्विन्स पार्क ओभलमा हुनेछन्। सिरिजको पहिलो टी–२० आई खेल २९ जुलाईमा त्रिनिडाडको ब्रायन लारा क्रिकेट एकेडेमीमा हुनेछ, जुन यस मैदानमा पहिलो पुरुष टी–२० आई खेल हुन लागेको हो।
दोस्रो र तेस्रो टी–२० आई खेल सेन्ट किट्सको वार्नर पार्कमा हुनेछ। चौथो तथा अन्तिम टी–२० आई खेलका लागि दुवै टोली अमेरिकाको फ्लोरिडा जानेछन्।
यस घरेलु सिजनमा भारतबाहेक वेस्ट इन्डिजले बंगलादेश र न्यूजिल्याण्डको सामना गर्नेछ। बंगलादेशसँगको दुई टेस्ट खेल जुन १६ देखि २८ सम्म एन्टिगुवा र सेन्ट लुसियामा हुनेछ।
त्यसपछि ३ टी–२० आई र ३ एकदिवसीय सिरिज हुनेछ।
भारतपछि न्यूजिल्याण्डले पनि क्यारेबियनको भ्रमण गर्नेछ। अगस्ट १० देखि अगस्ट २१ सम्म हुने यस भ्रमणमा ३ टी–२० आई र ३ एकदिवसीय खेल हुनेछन्। टी–२० आई सिरिज जमैकामा र एकदिवसीय सिरिज बार्बाडोसमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।