काठमाडाैं-भारतीय क्रिकेट टोलीका पूर्वकप्तान तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का वर्तमान प्रमुख सौरभ गांगुलीले बुधबार एउटा ट्वीट गरे। जुन ट्वीटले धेरै अड्कलबाजी चलेको छ। ट्वीटमा गांगुलीले आफू के गर्न लागेका हुन् भन्ने कुरा स्पष्ट रूपमा भनेका छैनन्। तर, उनी केही गर्ने योजनामा छन्, जसले धेरै मानिसहरूलाई मद्दत पुग्ने आशा गरिएको छ।
उनले लेखेका छन्, ‘मैले सन् १९९२ मा क्रिकेटको यात्रा सुरु गरेको थिएँ र २०२२ मा यो यात्रा ३० वर्ष पुगेकाे छ। क्रिकेटले मलाई धेरै दिएको छ। यस यात्रामा मलाई साथ दिनुहुने र मद्दत गर्नुहुने सबैलाई धन्यवाद। आज म केही गर्ने योजनामा छु। आशा छ, यसले धेरै मानिसहरूलाई मद्दत गर्नेछ। म मेरो जीवनको यस अध्यायमा तपाईंको निरन्तर सहयोगको अपेक्षा गर्दछु।’
उक्त ट्वीटपश्चात् बीसीसीआईबाट राजीनामा दिएर उनी राजनीतिमा लाग्न लागेको समाचार भारतीय सञ्चारमाध्यममा फैलिएको छ। तर, उक्त समाचारमा कुनै सत्यता नरहेको बीसीसीआईका सचिव जय शाहले बताएका छन्।
हालै केन्द्रीय गृहमन्त्री अमित शाहले पश्चिम बंगालको दुई दिने भ्रमणको अन्तिम दिन गांगुलीसँग भेट गरेका थिए। भेट गांगुलीको निजी जिवासमा भएको थियो। सो क्रममा पश्चिम बंगालका भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष डा सुकान्त मजुमदार, विपक्षी दलका नेता शुभेन्दु अधिकारी, स्वपनदास गुप्तालगायत अन्य नेताहरुको पनि उपस्थिति थियो।
यसै क्रममा शाह र गांगुलीले सँगै डिनर पनि गरेका थिए। जब गांगुलीलाई शाहसँगको भेटको बारेमा सोधिएको थियो, उनले भनेका थिए, ‘डिनरलाई राजनीतिक अर्थ लगाउनु हुँदैन। म अमित शाहलाई एक दशकभन्दा बढी समयदेखि चिन्छु र उहाँलाई धेरै पटक भेटेको छु। म खेल्दा भेट हुन्थ्यो। म उहाँको छोरा (जय शाह)सँग काम गर्छु। यो पुरानो सम्बन्ध हो।’
उनको यस भनाइबाट उनी राजीतिमा अहिल्यै नै हाम फालिहाल्ने स्थितिमा नरहेको बुझिन्छ। तर, गांगुलीको अध्यक्ष पदको कार्यकाल यसै वर्ष अक्टोबरमा सकिँदैछ।
लोढा समितिको सिफारिस अनुसार कुनै व्यक्ति लगातार ६ वर्षदेखि स्टेट एसोसिएसन र बीसीसीआईको पदाधिकारी रहेमा ३ वर्षसम्म कुलिङ अफ पिरियडमा जानु अनिवार्य छ। गांगुली पहिले संयुक्त सचिव र पछि बंगाल क्रिकेट संघको अध्यक्ष भइसकेका छन्।
गांगुलीको कार्यकालमा धेरै विवादहरु भएका थिए। उनले विराट कोहलीलाई कुनै जानकारी नै नदिइकन कप्तानी खाेसेका थिए।
अर्कोतर्फ राहुल द्रविड र भिभिएस लक्ष्मणलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन्। द्रविड हाल टिम इन्डियाको प्रशिक्षक छन् भने लक्ष्मण एनसीएको जिम्मेवारी सम्हालिरहेका छन्।
त्यसैले अक्टोबरमा कार्यकाल सकिएपछि गांगुली क्रिकेट प्रशिक्षकको भूमिकामा देखिने हल्ला पनि चल्न थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।