काठमाडौं– नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो टोली सन्तुलित अवस्था रहेको बताएका छन्।
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज खेल्नका लागि अमेरिका पुगेका सन्दीपले बुधबारको अभ्यासपछि नेपालमा जे सोचेर अमेरिका आएको हो, ठ्याक्कै त्यस्तै भएको भन्दै टोलीमाथि पूर्ण विश्वास व्यक्त गरे।
‘यहाँ हामीले आज (बुधबार) बिहान अभ्यास गरेका थियौं। टिम राम्रो अवस्थामा छ। नेपालमा हामीले जे सोचेर आएका थियौं। ठ्याक्कै त्यस्तै छ। र, त्यसका लागि तयारी पनि गरेर आएका थियौं। बिहान अभ्यास गर्दा केही तलमाथि भयो। लामो यात्रा तय गरेर आउँदा यस्तो हुनु स्वभाविक नै हो। आउँदा दिनमा एडजस्ट हुन्छ,’ उनले भने।
नेपालले आईसीसी विश्वकप लिग–२ मा अमेरिका र ओमानसँग खेल्ने छ। नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
यी दुई खेल अघि नेपालले दुई अभ्यास खेल खेल्ने छ। बिहीबार नेपाल र नेपाली अल स्टार्सबीच खेल हुनेछ। यस्तै, नेपालले दोस्रो अभ्यास खेल शनिबार ह्युस्टन हरिकेन्ससँग खेल्नेछ।
अल स्टार्सको कप्तानी नेपाली टोलीका मध्यक्रमका पूर्व ब्याटर पृथु बाँस्कोटाले गर्ने छन्। टोलीमा अनुभवी स्पिनर बसन्त रेग्मी हुनेछन्।
अभ्यास खेल नेपालको लागि राम्रो अवसर रहेको बताउँदै सन्दीपले आफ्नै परिवारका सदस्यविरुद्ध खेल्न पाउँदा खुसी लागेको समेत बताए। ‘नियमित क्रिकेट खेलिरहेको राम्रो र सन्तुलित टोलीसँग अभ्यास खेल खेल्न लागेका छौं। त्यसमाथि आफ्नै परिवारविरुद्ध खेल्न पाएका छौं। यो हाम्रो लागि राम्रो अवसर हो,’ उनले भने।
नेपालले अभ्यास खेल र आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा तीव्र गतिका बलर विक्रम सोबलाई गुमाएको छ। ब्याक इन्जुरीको कारण उनको स्थानमा स्पिनर सुशान भारीलाई समेटिएको छ। त्यसकारण उनलाई मिस गर्ने सन्दीपले बताए।
‘दुर्भाग्यपूर्ण हामीले एउटा तीव्र गतिका बलर मिस गर्यौं। हामीसँग तीन विश्वस्तरिय तीव्र गतिका बलर छन्। ब्याकअप बलर पनि राम्रो छन्। स्पिनरहरु पनि उतिकै राम्रो छन्। कुनैपनि टोलीसँग राम्रो प्रतिस्पर्धात्मक क्रिकेट खेलेर जित्ने क्षमता यो टोलीसँग छ’, उनले भने।
सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध जेठ २६ गते खेल्ने छ। यस्तै, नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जेठ २८ र तेस्रो खेल फेरि ओमानविरुद्ध जेठ ३१ गते खेल्ने छ। अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध असार १ गते खेल्ने तालिका रहेको छ।
लिग–२ को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ। नेपालले १२ खेलमा ६ जित र ६ खेलमा हार बेहोरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।