काठमाडौं- वेस्ट इन्डिजका पूर्वअलराउन्डर डेभिड होल्डफोर्डको ८२ वर्षको उमेरमा निधन भएको छ। उनको बार्बाडोसस्थित आफ्नै घरमा निधन भएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार उनी केही समयदेखि बिरामी थिए। उनी तल्लो क्रमका ब्याट्सम्यान र लेग स्पिनर थिए। उनले कुल २४ टेस्ट खेलमा वेस्ट इन्डिजको प्रतिनिधित्व गरेका थिए।
उनले सन् १९६६ देखि १९७७ सम्म खेलेका २४ टेस्ट म्याचमा ७६८ रन बनाएका थिए, जसमा एक शतक पनि समावेश छ। बलिङमा उनले ५१ विकेट लिएका थिए।
उनले १९७० मा बार्बाडोसको कप्तानी गरेका थिए। त्यसबेला उनले टोलीलाई ५ शेल शिल्ड उपाधि दिलाएका थिए। उनले ट्रिनिडाड एन्ड टोबागोको पनि प्रतिनिधित्व गरेका थिए।
होल्डफोर्ड प्रतियोगितामा १ हजार रन बनाउने र सय विकेट लिने पहिलो क्रिकेटर थिए। उनी १९७८ मा केरी प्याकर सिरिजको एक हिस्सा पनि बने।
सन् १९६६ मा ओल्ड ट्राफोर्डमा इङ्ल्यान्डविरुद्ध ग्यारी सोबर्ससँग १२७ रनको साझेदारीमा ३२ रनको उपयोगी इनिङ्स खेल्दा उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिचान बनाएका थिए। पछि उनले एक अन्तर्वार्तामा यो इनिङ्सलाई आफ्नो सबैभन्दा यादगार रहेको बताएका थिए।
त्यसको लगत्तै लर्ड्स टेस्टमा उनले वेस्ट इन्डिजका लागि समस्या निवारकको भूमिका खेले। आफ्नो १०५ रनको इनिङ्सले वेस्ट इन्डिजलाई त्यो म्याच हार्नबाट बचायो।
दोस्रो इनिङ्समा होलफोर्ड ब्याटिङ गर्न आउँदा वेस्ट इन्डिजले ९५ रनमा ५ विकेट गुमाएको थियो। त्यसपछि उनले फेरि ग्यारी सोबर्ससँग २६० रनको अटूट साझेदारी गरे। फलस्वरूप वेस्ट इन्डिजले त्यो सिरिज ३–१ ले जित्न सफल भयो।
ब्याटिङकाअलावा उनले भारतविरुद्ध आफ्नो उत्कृष्ट प्रदर्शन गरेका थिए। होफोर्डले सन् १९७५ मा बार्बाडोसस्थित आफ्नो घरेलु मैदानमा खेल्दा २३ रन दिएर ५ विकेट लिएका थिए। क्रिकेटबाट सन्यास लिएपछि, उनले बार्बाडोस क्रिकेट संघको निर्देशक र वेस्ट इन्डिज क्रिकेट टोलीको छनोट र टोली प्रबन्धकको रूपमा पनि काम गरे।
बार्बाडोस क्रिकेट संघका वर्तमान अध्यक्ष कोन्डी रिलेले बार्बाडोसका लागि उनको योगदानको स्मरण गर्दै होलफोर्डलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले भने, ‘उनी सधैं बार्बाडोस क्रिकेटको बारेमा कुरा गर्थे। हाम्रो राष्ट्रिय टोली निर्माणमा धेरै ध्यान दिए। मुख्य छनोटकर्ताको हैसियतमा उनले शिवनारायण चन्द्रपाललाई सानै उमेरमा खेल्ने मौका दिए र बाँकी आफैंमा इतिहास हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।