काठमाडौं–आईसीसी यू–१९ महिला विश्वकप अन्तर्गत एसिया छनोटका लागि मलेसिया जाने नेपाली टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाइ गरेको हो। नेपाली टोली भोलि बुधबार त्यसतर्फ प्रस्थान गर्ने छ।
नेपालले छनोटका लागि कृतिका मरासिनीको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरिसकेको छ। टोलीमा कृतिकासँगै उपकप्तान स्नेहा महरा, श्रृष्टि जैसी, मनिषा उपाध्याय र मनिषा रानामगर रहेकी छन्।
यस्तै, विकेटकिपरद्वय एलिसा यादव र रञ्जु श्रेष्ठ, साना प्रभिन, आस्मा पुलामी मगर, सानु राजवंशी, किरण कुवँर, अन्जली विक, अनु कडायत र सुस्मिता भुसाल रहेकी छन्।
जेठ २० देखि मलेसियामा सुरु हुने प्रतियोगितामा नेपाल, युएई, मलेसिया, कतार, भुटान, र थाइल्यान्ड छन्। चीन र म्यानमार भने सहभागी नहुने भएका छन्।
नेपालले कतारसँग जेठ २० मा खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। यस्तै, दोस्रो खेलमा युएईविरुद्ध २१ गते र भुटानसँग २३ गते खेल्नेछ। त्यस्तै, नेपालले २४ गते थाइल्यान्ड र २५ गते मलेसियाविरुद्ध खेल्नेछ। यू–१९ महिला विश्वकप पहिलो पटक हुन लागेको हो।
नेपाल शीर्ष स्थानमा रहन सके अर्को वर्ष दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकप खेल्न पाउने छन्। २०२३ को सुरुआतमा दक्षिण अफ्रिकामा हुने प्रातियोगितामा १६ टोलीको सहभागिता रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।