काठमाडौं– पाकिस्तानले वेस्ट इन्डिजविरूद्धको घरेलु सिरिजको तालिका परिवर्तन गरेको छ। छिमेकी सहर इस्लामावादको रावलपिण्डीमा जारी राजनीतिक अस्थिरताका कारण एकदिवसीय खेल मुल्तानमा सारिएको हो।
मैदानबाहेक तालिकामा अन्य कुनै परिवर्तन गरिएको छैन। एकदिवसीय सुपर लिग खेलहरू जुन ८, १० र १२ मा हुनेछ।
एकदिवसीय खेल रावलपिण्डीमा खेल्ने तय थियो। तर, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले मुल्तानलाई ब्याकअपको रूपमा राखेको थियो।
पूर्वप्रधानमन्त्री इमरान खानले आगामी दिनमा राजधानीमा विरोध र्याली गर्ने योजना बनाएका छन्। मूल विरोध र्याली मे २५ मा भएको थियो, तर आगामी दिनमा यस्ता र्यालीहरू हुने सम्भावना प्रवल छ।
कराची र लाहोरमा नयाँ पिचहरू राखिँदै गर्दा पेशावरको स्टेडियमको मर्मतसम्भार भइरहेको छ। यस्तो अवस्थामा मुल्तान मात्र ब्याकअप मैदान थियो।
दक्षिण पञ्जावमा अवस्थित मुल्तान मैदानमा खेलका दिनमा तापक्रम ४० डिग्री सेल्सियस हुने अनुमान गरिएको छ। तातो मौसमका कारण पाकिस्तानले यस महिनाअघि कहिल्यै उच्चस्तरीय क्रिकेट आयोजना गरेको छैन।
गत वर्ष बोर्डले मुल्तानमा महिला टोलीका लागि क्याम्प आयोजना गरेको थियो। जुन गर्मीका कारण रद्द गर्नुपरेको थियो।
गर्मी मौसमलाई ध्यानमा राख्दै एकदिवसीय खेल दिउँसो ४ बजे सुरू हुनेछ। पाकिस्तानी टोलीले ५ जुनमा मुल्तान प्रस्थान गर्नुअघि लाहोरमा चार दिन अभ्यास गर्नेछ।
जुन ६ मा वेस्ट इन्डिजको टोली इस्लामावाद पुगेर चार्टर उडानबाट मुल्तान जानेछ। यो एकदिवसीय सिरिज गत वर्ष डिसेम्बरमा खेल्ने भनिए पनि वेस्ट इन्डिजको टोलीमा कोरोना संक्रमणका कारण भ्रमण बीचमै स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।