काठमाडौं– एक इनिङ्स बाँकी रहँदा जोस बटलरले इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनमा १५० को स्ट्राइक रेटमा ८२४ रन बनाइसकेका छन्। तर, रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध सिजनको चौथो शतक प्रहार गरेपछि उनले आफू यो सिजन कम अपेक्षाका साथ भारत उत्रिएको बताए।
बटलरले शुक्रबार रातिको खेलपछि स्टार स्पोर्ट्ससँग भने, ‘म धेरै कम अपेक्षाहरूका साथ आएको हुँ। तर, प्रतियोगिताका लागि धेरै ऊर्जा र उत्साह थियो। यो सिजनलाई पछाडि फर्केर हेर्दा अविश्वसनीय, रोमाञ्चक लाग्छ।’
यो सिजन बटलरका लागि उतारचढावले भरिपूर्ण रह्यो। उनले पछिल्लो तीन साता कुनै अर्धशतक बनाउन सकेनन्। यस अवधिमा उनले ३ खेलमा १० रन पनि छुन सकेनन्।
बटलर यसबाट विचलित भए। उनले जति दबाब दबाउन खोज्यो, उति बढ्दै गयो। आफ्नो दबाबको अनुभवबारे उनी भन्छन्, ‘मैले मेरो वरपरका केही नजिकका व्यक्तिहरू र कुमार संगकारा (राजस्थानका निर्देशक) र ट्रेभर पेनी (सहायक प्रशिक्षक)सँग कुराकानी गरेँ। मैले अलिकति दबाव महशुस गरेँ। म विचलित भएँ। र, मैले यसलाई दबाउन खोजेँ, तर एक या दुई हप्तापछि मैले खुलेर कुरा गर्न थालेँ। यसले मलाई राम्रो महशुस गरायो। म कोलकाता (क्वालिफायर १ को लागि) गएँ र स्पष्ट रूपमा त्यो इनिङ्सले आज मलाई धेरै आत्मविश्वास दिएको छ।’
बटलरले क्वालिफायरमा गुजरात टाइटन्सविरुद्ध ८९ रन बनाएका थिए। तर, स्पिन राशिद खानविरुद्ध रन बनाउन उनले निक्कै संघर्ष गर्नुपर्यो। त्यसको पूर्ति उनले डेथ ओभरमा गरे। बटलरले १६औं ओभरबाट खेल परिवर्तन गरे र अर्को १८ बलमा ५० रन बनाए। तर, उनको मिहिनेत असफल भयो। राजस्थानले उक्त खेल हार्यो।
दुई दिन पछि उनी अहमदाबाद पुगे। आफूसँग सम्भव भएसम्म राम्रो तयारी भएको उनी बताउँछन्। ‘मलाई लाग्छ म आज निकै उत्साहित भएर आएको हुँ। लाखौं मानिसहरूको अगाडि खेल्ने सोच अचम्मको थियो। हामीले खाली मैदानमा खेलेको दुई वर्ष भइसक्यो। यो आईपीएल हो, दर्शकको समर्थन अविश्वसनीय हुन्छ। एउटा उत्कृष्ट स्टेडियममा क्रिकेट खेल्नु मेरो लागि ठूलो कुरा हो। मैले धेरै रमाइलो गरें,’ उनले भने।
बटलरको बलियो पक्षबारे सोध्दा संगकारा उनको समग्र खेल राम्रो रहेको बताउँछन्। ‘उनी कुनै पनि समय खेललाई परिवर्तन गर्न सक्छ। उनी ३० बाट ८०–९० रनमा समेत पुग्न सक्छन्। यो सिजन उनले हाम्रो लागि के गरे शब्दमा वर्णन गर्न गाह्रो हुन्छ। प्रतियोगिताको एक बिन्दुमा अलिकति ठोकर खाए, तर उसले आफूलाई शान्त बनाएर राम्रो खेल प्रदर्शन गरे।’
बटलर सन् २०१७ मा राइजिङ पुणे सुपरजायन्टलाई अन्तिम बलमा पराजित गर्दा विजयी मुम्बई इन्डियन्स टोलीको हिस्सा थिए। उनी २०१८ देखि राजस्थानसँग छन्, र फ्रेन्चाइजले यस वर्षको मेगा अक्सनमा उनलाई निरन्तरता दियो।
२००८ पछि उनको पहिलो उपाधि जित्ने सपना अब अवसरमा बद्लिएको छ। विश्वको सबैभन्दा ठूलो टी–२० प्रतियोगिता आईपीएल भएको बताउँदै उनी फाइनलमा पुग्नु धेरै रोमाञ्चक रहेको बताउँछन्।
उनी राजस्थानलाई आफ्नो पहिलो र एकमात्र आईपीएल उपाधि जिताउने स्वर्गीय क्रिकेटर शेन वार्नलाई सम्झँदै भन्छन्,‘विश्वको सबैभन्दा ठूलो टी२० प्रतियोगिताको फाइनलमा पुग्ने मौका पाउनु धेरै रोमाञ्चक छ। हामी सबै उहाँ ९वार्न०लाई सम्झिन्छौं। आज उहाँले हामीलाई धेरै गर्वका साथ हेरिरहनु भएको होला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।