काठमाडौं– सर्वोच्च अदालतमा रिट परेसँगै पाँचौ संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) अनिश्चित बनेको छ।
गत वैशाख २२ गते नै आयोजक ईपीएल क्रिकेटले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता कात्तिक २६ देखि मंसिर १० गतेसम्म हुने जानकारी दिएको थियो।
यस मितिलाई नेपाल क्रिकेट संघ (क्यान)ले स्वीकृति दिन बाँकी रहेको ईपीएलले जनाएको थियो। तर, ‘काउन्टर’मा क्यानले जेठ ४ गते पत्रकार सम्मेलन गर्दै चार संस्करणको सफल आयोजना गरिसकेको ईपीएललाई राष्ट्रिय प्रतियोगिताको मान्यता नदिने बताएपछि विवादित बनेको छ।
त्यसपछि ईपीएलका आयोजक र ६ फ्रेन्चाइजी टोलीहरूले पनि संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै क्यानको निर्णयले आफूलाई ठूलो घाटा हुने भन्दै उठाएको माग सम्बोधन नगरे कुनै पनि कार्यक्रममा उपस्थित नहुने चेतावनी दिएका थिए।
त्यसको विपक्षमा क्यानले ईपीएलले गरेको पत्रकार सम्मेलनले ध्यानाकर्षण गराएको र नेपाल टी–२० लिग नै आधिकारिक रहेको भन्दै अन्य लिगलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेको बताइसकेको छ। यसका साथै हाल अस्वित्वमा रहेका फ्रेन्चाइजी लिगलाई प्रदेश संरचनामा लिन सकिने जवाफ फर्काएको छ।
तर, ईपीएलले क्यानको त्यो निर्णयलाई स्वीकार गर्न नसकिने भन्दै कानुनी बाटो रोजेको छ। यसैबीच, युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज पनि क्यानकै पक्षमा उभिएका छन्।
अमेरिकामा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जान लागेको नेपाली टिमलाई बिदाइ गर्न आयोजित कार्यक्रममा शनिबार मन्त्री गहतराजले सरकारले नेपाली क्रिकेटलाई चिन्दा क्यानलाई चिन्ने भन्दै ईपीएलविरुद्ध ‘रेड सिंग्नल’ देखाएका छन्।
‘नेपाली क्रिकेटको विकासका लागि सरकारसँग समन्वय गर्ने भएकाले उसले आयोजना गर्ने प्रतियोगितालाई चिन्ने हो। यसबाहेक अरुले आयोजना गर्ने प्रतियोगितालाई सरकारले चिन्दैन,’ उनले भने।
यस्तै, नेपाली क्रिकेटमा देखिएको जुङ्गाको लडाइँलाई आफूहरू मिलेर समाधान गर्ने बताउँदै खेलाडीलाई खेलमा ध्यान दिन पनि उनले आग्रह गरे।
‘पछिल्लो पटक क्रिकेटमा देखिएको विवादलाई हामी नै मिलेर समाधान गर्छौं। अहिले यो अवस्थामा ईपीएलको विषयमा केही नसम्झियौं, दबाबविहीन भएर खेलौं,’ उनले भने।
क्यानले नेपाल टी–२० लिग आयोजना गर्न भारतीय कम्पनी सेभेन स्पोर्ट्स थ्री प्राइभेट लिमिटेडसँग ८ वर्षका लागि ३३ करोड रुपैयाँमा सम्झौता गरेको छ।
असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने भनिएको लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न सहभागी हुने क्यानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।