काठमाडौं– राजस्थान रोयल्सका ओपनर जोस बटलरले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायर २ मा उत्कृष्ट इनिङ्स खेले, र आफ्नो टोलीलाई फाइनलमा पुर्याउन अविजित रहँदै शतक बनाए।
यो बटलरको आईपीएल २०२२ को चौथो शतक हो। तर, उनको आईपीएल क्रिकेट करिअरको पाँचौं शतक हो।
बटलरले बैंग्लोरविरुद्ध ६० बलमा ६ छक्का र १० चौकाको मद्दतले अविजित १०६ रन बनाए। उनको स्ट्राइक रेट १७६.६७ थियो।
राजस्थानलाई ओपनर यशश्वी जायसवाल र बटलरले ५.१ ओभरमा ६१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाए। जैसवाल १३ बल खेलेर १ चौका र २ छक्कासहित २१ रनमा आउट भए।
आईपीएलको यो सिजनमा बटलरले ४ शतक प्रहार गर्दै विराट कोहलीको कीर्तिमानी बराबरी गरेका छन्। यसअघि सन् २०१६ मा कोहलीले ४ शतक बनाएका थिए।
आईपीएलमा बटलरको यो पाँचौं शतक हो भने कोहलीले पनि अहिलेसम्म ५ शतक बनाएका छन्। आईपीएलमा सर्वाधिक शतक प्रहार गर्ने कीर्तिमान क्रिस गेलको नाममा छ, जसले ६ शतक प्रहार गरेका छन्।
बटलर आईपीएल २०२२ मा सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले अहिलेसम्म खेलेका १६ खेलमा ५८.८५ को औसत र १५१.४७ को स्ट्राइक रेटमा ८२४ रन बनाएका छन्।
बटलरले यो सिजन अहिलेसम्म चार शतक र चार अर्धशतक बनाएका छन्। योसँगै उनले यी खेलमा ७८ चौका र ४५ छक्का प्रहार गरेका छन् भने उनको उत्कृष्ट स्कोर ११६ रन रहेको छ। डेभिड वार्नर र कोहलीपछि आईपीएलको एक सिजनमा ८०० रन बनाउने बटलर तेस्रो ब्याट्सम्यान बनेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।