काठमाडौं–रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान फाफ डु प्लेसिसको नजरमा हर्षल पटेल ‘जोकर कार्ड’जस्तै हुन्, जुन सबैभन्दा बढी आवश्यक पर्दा बाहिर फालिन्छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ सुरु हुनुअघि हर्षलले डु प्लेसिसलाई कठिन ओभरमा बलिङ गर्न मनपराउने बताएका थिए। लखनऊ सुपर जाइन्ट्सविरुद्ध बुधबार रातिको प्लेअफ खेलमा डु प्लेसिसले पछिका लागि दुई ओभर बचाएर हर्षललाई त्यस्तै जिम्मेवारी दिए। जुन उनले चाहेका थिए।
हर्षलको तेस्रो ओभर महत्त्वपूर्ण र निर्णायक थियो। लखनऊलाई तीन ओभरमा जितका लागि ४१ रन आवश्यक थियो। उनले वाइड ओभरको सुरुआत गरे र त्यसपछि अर्को वाइड बल गरे, जुन विकेटको पछाडि रहेका दिनेश कार्तिकको टाउकोमाथिबाट ६ रनको लागि गयो।
त्यसपछि लखनऊलाई अब तीन ओभरमा ३५ रन चाहिएको थियो। मैदानमा थिए, केएल राहुल र मार्कस स्टोइनिस। यी दुई ब्याटरको उपस्थितिले लखनऊले सहजै लक्ष्य हासिल गर्न सक्छ भन्ने सबैलाई लागेको थियो।
यस्तो अवस्थामा हर्षलले राउन्ड द विकेट वाइड योर्कर गर्ने प्रयास गरिरहेका थिए, तर एकपटक त्यो रणनीति पूर्ण असफल भयो। उनी आफ्नो पहिलो दुई ओभरमा अनुसरण गरेको रणनीतिमा फर्किए। यही रणनीतिका कारण हर्षलले दुई ओभरमा ८ रन मात्र खर्चे र ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन्।
यो रणनीतिले काम गर्यो, हर्षलको सर्ट बलमा रजत पाटीदारले डिप पोइन्टमा स्टोयसलाई क्याच आउट गरे। त्यो ओभरको पहिलो दुई बलमा हर्षलले ६ अतिरिक्त रन दिएका थिए। तर, ६ अतिरिक्त रनलाई नगन्ने हो भने उनले त्यो ओभरमा मात्र दुई रन दिएका थिए।
जसको फलस्वरूप लखनऊलाई अब जितका लागि १२ बलमा ३३ रन बनाउनु पर्ने थियो। डु प्लेसिसले हर्षलको प्रशंसा गर्दै भने, ‘उनी प्याकमा रहेको जोकर कार्डजस्तै हुन्, सही समयमा निकाल्न पर्ने। उसले ठूलो दबाबमा पनि बलिङ गर्न सक्छ, जब म सबैभन्दा बढी दबाब महसुस गर्छु। आज उसले महत्त्वपूर्ण ओभर बलिङ गर्यो र सबैभन्दा महत्त्वपूर्ण कुरा उसको तेस्रो ओभर थियो (लखनऊको इनिङ्सको १८औं ओभर) जसमा उसले एक्लै खेललाई घुमायो।’
खेल सकिएलगत्तै पत्रकार सम्मेलनमा हर्षलले आफू नर्भस भएको स्वीकार गरे पनि परिस्थिति अनुसार आफ्नो रणनीति परिवर्तन गर्न सकेको बताए।
हर्षलले भने, ‘पक्कै पनि म नर्भस थिएँ, यसमा कुनै शंका छैन। जब तपाईं १८ बलमा ३५ रन डिफेन्स गर्न जानुहुन्छ, तपाईं नर्भस हुनु स्वभाविक हो। तर, जब मैले वाइडबाट ६ रन दिएँ तब वाइड योर्कर थिएन भन्ने बुझें। त्यसैले म स्टोइनिस र राहुललाई आउट गर्नका लागि पहिलो दुई ओभरमा जस्तै बलिङ गर्ने निर्णयमा फर्किएँ। मैले स्टोइनिसको विकेट लिए र हेजलवुडले राहुललाई आउट गरे। खेल त्यहीँ परिवर्तन भयो।’
पछिल्ला केही वर्षदेखि हर्षल मैदानमा निक्कै परिपक्क देखिएका छन्। उनी खेल राम्ररी बुझ्न सक्छन्। आफ्नो पहिलो दुई ओभरमा हर्षलले हार्ड लेन्थ बलिङ गरेका थिए र ब्याट्सम्यानलाई लामो बाउन्ड्रीमा जान बाध्य पार्न कटरको पूर्ण प्रयोग गरे।
आफ्नो रणनीतिको बारेमा हर्षलले भने, ‘उनीहरूका बलरहरूले छोटो या ढिलो बलिङ गर्दा बल ब्याटमा राम्रोसँग आउँदैनथ्यो। यो मेरो लागि संकेत थियो, मैले पिचमा सकेसम्म छोटो र ढिलो बलिङ गर्नुपर्छ।’
चोटबाट निको भएर यो खेल खेल्न आउँदा हर्षलले आफ्नो योजनालाई जुन निरन्तरताका साथ पूरा गरे त्यो पत्याउनै नसकिने थियो।
कठिन ओभरमा बलिङ गर्ने आफ्नो चाहनाबारे हर्षलले भने, ‘म राम्रो बलिङ गर्न सक्छु कि सक्दिनँ थाहा छैन। तर, म आफूलाई यस्तै अवस्थामा राख्न चाहन्छु। म यो विगत दुईरतीन वर्षदेखि गर्दै आएको छु। म यो हरियाणाको लागि गर्दै आएको छु र ठूलो मञ्चमा पनि गर्न चाहन्छु। यद्यपि, म असफल हुने समय आउनेछ, तर म चुनौतीहरूलाई आँखा चिम्लेर हेर्ने कुरामा विश्वास गर्दिनँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।