काठमाडौं– पाकिस्तानका पूर्व बलर उमर गुल अफगानिस्तानको बलिङ प्रशिक्षकमा नियुक्त भएका छन्। उनको प्रारम्भिक सम्झौता एक वर्षको लागि हो। उनी जुनमा जिम्बाब्वे भ्रमणमा पहिलो पटक टोलीसँग हुनेछन्।
उनी पाकिस्तानी क्रिेकेट टिमका सबैभन्दा तीव्र बलर हुन्। जुन ४ देखि जुन १४ सम्म हुने यस भ्रमणमा तीन टी–२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेल हुनेछन्। यसअघि गुल पाकिस्तान सुपर लिग (पीएसएल) मा क्वेटा ग्लाडिएटर्सका बलिङ प्रशिक्षक थिए।
उनलाई अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले अप्रिलमा युएईमा हुने अभ्यास शिविरका लागि बलिङ सल्लाहकार नियुक्त गरेको थियो। अब उनको यो जिम्मेवारी स्थायी बनेको छ।
एक प्रेस विज्ञप्तिमा एसीबीले भनेको छ, ‘अभ्यास शिविरमा गुलले प्रभावशाली काम गरेका छन् र हामीलाई अझै बलिङ प्रशिक्षकको खाँचो छ। त्यसैले हामीले उनलाई स्थायी सम्झौता दिएर बलिङ प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेका छौं।’
४७ टेस्ट (१६३ विकेट), १३० एकदिवसीय (१७९ विकेट) र ६० टी–२० अन्तर्राष्ट्रिय (८५ विकेट) खेलेका ३९ वर्षीय गुलले अक्टोबर २०२० मा सबै प्रकारका क्रिकेटबाट सन्यास लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।