काठमाडौं– नेपाल टी२० लिग खेल्ने ६ फ्रेन्चाइज क्रिकेट टोलीको नाम सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले प्रतियोगिता खेल्ने फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको हो।
क्यानका अनुसार नेपाल टी२० लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्न सहभागी हुने छन्।
क्यानले जेठ ४ गते पत्रकार सम्मेलन गर्दै आफ्नै आयोजनामा सञ्चालन हुने फ्रेन्चाइज प्रतियोगिताको औपचारिक घोषणा गरेको थियो। प्रतियोगिताको पहिलो संस्करणमा ६ टिम हुने बताइएको छ।
प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने छ।
यस्तै, बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिँदै अन्य कुनैपनि लिगलाई राष्ट्रिय मान्यता नदिने स्पष्ट पारेको छ। साथै क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा भने अनुमति दिन सकिने क्यानले विज्ञप्तिमा जनाएको छ।
यो निर्णयसँगै नेपालमा सञ्चालमा रहेको एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग जस्ता फ्रेन्चाइज प्रतियोगिताले पुरानै संरचनामा प्रतियोगिता गर्न नपाउने भएका छन्।
उनीहरु क्षेत्रीय अवधारणाका आधारमा मात्र क्यानसँग अनुमति लिएर सञ्चालन हुने पाउनेछन्।
बैठकले २०२२ अप्रिल १ गतेबाट लागु हुनेगरि राष्ट्रिय क्रिकेट टिमका खेलाडी, मैदान कर्मचारी, मैदान सहयोगी र पिच क्युरेटरको मासिक पारिश्रमिकमा वृद्धि गरेको छ।
राष्ट्रिय पुरुष टिमका खेलाडीको मासिक पारिश्रमिक १० हजारले वृद्धि गरिएको छ, भने महिला टिमका सी श्रेणीका खेलाडीको ५ हजार र बी र ए श्रेणीका खेलाडीको ६ हजारको दरले पारिश्रमिक वृद्धि गरिएको छ।
यस्तै, सम्पूर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक ५ हजारको दरले र पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गर्ने निर्णय क्यानले गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।